बैजनाथमा नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन


नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिकामा बिहीबार गाउँपालिका स्तरीय नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरिएको छ । “रक्तदान जीवनदान” भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उपशाखा बैजनाथमा गठन गरिएको हो ।
बैजनाथ गाउँपालिका वडा नं. २ मा बिहीबार भएको स्थानीयबासीको भेलाले सुरेन्द्र वि.क.को अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा दिपक कार्की., सचिवमा सोनु सिंह वि.क., कोषाध्यक्षमा उषा थापा मगर र सहसचिवमा हेमन्त ओली चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा सपना ओली, वीर बहादुर थारु, सन्दीप खप्तडी, कृष्ण सिंह ठकुरी, सिताराम खत्री रहनु भएको छ ।
त्यसैगरि सल्लाहकारहरुमा बैजनाथ गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष राजु रुचाल ठकुरी, जिल्ला सहकारी संघ, बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, शेर बहादुर बस्नेत, अगन मल्ल, यज्ञ पुन, एकता शाह,भूमिसरा थापा, सितादेवी विश्वकर्मा र भूपाल शर्मा चयन हुनु भएको छ ।
सो अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्लेले समाजले रगतको अभावमा कसैकाे जीवन गुमाउन नपरोस् भनेर देशभर रक्तदान अभियानलाई वृहद् बनाउन शुरु गरिएको बताउनु भयो ।
विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अर्धसाप्ताहिकका सम्पादक तथा समाजका सल्लाहकार पूर्णलाल चुकेले हाम्रो एक पिन्ट रगतले कसैको ज्यान बच्छ र नयाँ जीवन पाउँछ भने रक्तदानको यो महान अभियानमा सबैले हातेमालो गर्न जोड दिनुभयो ।
सल्लाहकार चुकेले रक्तदान सबभन्दा ठूलो मानवीय सेवा र दान हो, यो भन्दा ठूलो सेवा अरु केही हुन सक्दैन भन्दै रक्तदानको महान अभियानमा गाउँगाउँका युवा रक्तदाताहरुले योगदान दिनुपर्नेमा जोड दिंदै उत्प्रेरणा जगाउनु भयो । उहाँले बैजनाथ गाउँपालिकाका रगतको आवश्यकता परेका बासिन्दालाई रेडक्रसलाई बुझाउनु पर्ने दस्तुर उपलब्ध गराउन बजेट विनियोजन गर्न आग्रह गर्नुहुँदै स्वयंसेवीहरुले निःस्वार्थ भावले दिएको रगतको मूल्य कसैले पनि लिन नहुने बताउनु भयो ।
वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरीले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै यस गाउँपालिकामा दुई वर्ष अघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न वृहद् रक्तदान कार्यक्रममा ३ सय ४५ जनाले रक्तदान गरेर नेपालमै अहिलेसम्मको नयाँ कीर्तिमान कायम गरेको स्मरण गराउनु भयो । उहाँले अब बैजनाथ गाउँपालिकामै नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा गठन गरेर अभियानमा पुस्तान्तरण भएको र रक्तदान अभियानलाई निरन्तरता हुने विश्वास गर्दै वडा कार्यालयबाट पनि सहयोगको प्रतिवद्धता व्यक्त गर्नु भयो ।
समाजका कोषाध्यक्ष मनमोहन वर्माले सञ्चालन गरेको उक्त भेलामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले र सल्लाहकार पूर्णलाल चुकेले अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
वडा नं. २ का अध्यक्ष राजु रुचाल ठकुरी र समाजका सदस्य होमराज गिरीको समन्वय र सक्रियतामा सम्पन्न उक्त भेलाको समापनमा समाजका उपशाखाका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र वि.क.ले रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
समाजका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी, प्रदेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक होमराज गिरीले ४० वर्ष उमेर पुगेका र ४५ के.जी. तौल भएका कुनै पनि युवाले रक्तदान गर्न सक्ने बताउँदै हरेक तीन महिनामा शरीरमा नयाँ रक्त कोशिका तयार हुने हुँदा हरेक तीन महिनामा रक्तदान गरेमा स्वास्थ्यमा कुनै नकारात्मक असर नपर्ने बताउनु भयो ।
कोषाध्यक्ष मनमोहन वर्माले अध्यक्ष सुरेन्द्र वि.क.लाई माइन्यूट बूक, सदस्यता रसिद र आजीवन सदस्यताको दरखास्त फाराम हस्तान्तरण गर्नु भएको थियो ।
बाँके जिल्लामा खजुरा गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारीमा यसअघि नै पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने अन्य बाँकी रहेका बाँकेका गाउँपालिकामा पनि क्रमिक रुपमा उपशाखा गठन गर्ने योजना रहेको समाजका अध्यक्ष दिला शाहले जानकारी दिनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !