नेपालगञ्जको बजेट एक अर्ब ६७ करोड

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाको शनिबार भएको नगर सभाको १३ औं अधिवेशनमा उक्त बजेट प्रस्तुत गरिएको हो ।
यो बजेटमा संघ र प्रदेशको सशर्त र समपुरक अनुदान, वित्तिय समानिकरण, राजश्व बाँडफाँडबाहेक घरजग्गा रजिष्टेसन (मालपोत) १४ करोड, आन्तरिक आय १८ करोड र राजश्व-अनुदान बचत मौज्जात २० करोड रहेको छ ।

वडाहरुलाई गतवर्षकै बराबरीमा बजेट छुट्याइएको छ । २५ करोड रुपैया सिलिङ उपलब्ध गराएर ५० प्रतिशत सबै वडालाई बराबरी र ५० प्रतिशत जनसंख्या, राजश्व संकलनलगायतका मापदण्ड बनाएर उपलब्ध गराइएको छ ।

मेयर प्रशान्त विष्टले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा वडा कार्यालय भवन निर्माण, नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन पहल गर्ने, नेपालगञ्जका चोकहरुमा सौन्दर्यकरण तथा ट्राफिक लाइटको व्यवस्था गर्ने, नेपालगञ्जमा ऐतिहासिक पार्क निर्माण, तालतलैयाको संरक्षण गर्ने, एक घर न्यूनतम एक रुखको अवधारणा अनुसार भवन बनाउन अनुमति दिने, सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज तथा पहिचान गरी संरक्षण गर्ने, धार्मिक, सांस्कृतिक क्रियाकलापको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने, नेपालगञ्जको ऐतिहासिक कला झल्किने गरी वडा नं. २० स्थित सुर्खेतरोडमा प्रवेशद्वार स्थापना गर्ने, गर्भवती सुत्केरी, जेष्ठ नागरिक तथा आकस्मिक विरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, आगामी पाँच वर्षमा क्षयरोग मुक्त गर्ने, दाइजो प्रथा न्यूनीकरणका लागि रणनीतिक योजना बनाउने, प्लाष्टिक झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्जका लागि विरुवा रोप्ने, विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने, श्रम सूचना बैंक स्थापना गर्ने, रोजगार मेला सञ्चालन गर्ने उल्लेख गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !