पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरेकाे छ ।

महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा शिविर सञ्चालन गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

चालू आर्थिक बर्षमा ९ वटा वडामा शिविर सञ्चालन गर्ने तय गरेको उपमहानगरपालिकाले हालसम्म ५ वटा वडामा शिविर सम्पन्न गरेको छ । २,९, १२, १५, १७, १९, २०, २१ र २२ नम्बर वडामा शिविर सञ्चालन गर्ने कार्य योजना बनेकोमा हालसम्म वडा नम्बर ९, १२, १७, १९ र २० मा शिविर सम्पन्न गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो । चन्दका अनुसार विभिन्न संघसंस्थासंग सहकार्य गरेर शिविर सञ्चालन भइरहेका छन् । परीक्षण गराएका मध्ये वडा नम्बर १९ मा ६ जना, वडा नम्बर १७ मा ६ जना, वडा नम्बर २० मा ५ जना र वडा नम्बर ९ मा ३ जनाको क्यान्सर ’पोजिटिभ’ देखिएको छ ।

यसैक्रममा शनिवार वडा नम्बर १७ स्थित परसपुर स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा कान्ति हेल्थ लाइनको आयोजना एवम् नेपालगञ्ज मेडिकल कलेजको समन्वयमा निःशुल्क शिविर गरिएको हो । शिविर शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित चेकजाँच गराउन आग्रह गर्नुभएको छ । क्यान्सर हुनु भन्दा अघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै नगर प्रमुख विष्टले नगरबासीको सहजताका लागि ठाउँ ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताउनुभयो ।
नगर उपप्रमुख कमरुद्दिन राईले महिलाहरुले लाज मानेर आफ्ना समस्या खुलेर नभन्ने प्रबृत्ति रहेको बताउँदै महिलाहरुलाई निर्धक्कका साथ आफ्नो पाठेघर परीक्षण गराई स्वास्थ्य अवस्थाका बारेमा बेलैमा जानकार रहन आग्रह गर्नुभयो । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समुदायमा पाठेघरको मुखको क्यान्सरको अवस्था पहिचान गर्न निःशुल्क शिविर आयोजना भइरहेकाले मौकाको लाभ लिन आग्रह गर्नुभयो । चन्दले क्यान्सर ‘पोजिटिभ’ देखिएमा क्यान्सर अस्पतालमा रेफर गरी नेपाल सरकारले उपलब्ध गराएको उपचार खर्च प्रदान गरिने बताउनुभयो । उहाँले क्यान्सरबाट जोगिन ६–६ महिनामा पाठेघरको परीक्षण गर्नुपर्ने बताउनुभयो ।

कान्ति आरोग्य अस्पतालकी निर्देशक डा.रोमा बोराले महिलाहरुले आफ्नो पाठेघरको अवस्थामा बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षणमा जोड दिनुभयो ।
वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मणप्रसाद बर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायत स्वास्थ्यकर्मी र पाठेघर परीक्षण गराउने महिलाहरुको उपस्थिति रहेको थियो ।

शिविरमा १८० जनाको पाठेघर परीक्षण गरिएको डा.बोराले जानकारी दिनुभयो । ती मध्ये ६ जनामा क्यान्सर ‘पोजिटिभ’ र १३ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ । सुशील कोइराला क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा.इन्द्रनिल घोष नेतृत्वको कान्ति आरोग्य अस्पतालको मेडिकल टोलीले शिविरमा पाठेघर परीक्षण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !