पूर्वराजा शुक्रबार नेपालगञ्ज आउने, अभिनन्दनका लागि १५ वटा समिति

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनलाई भब्य बनाउन राजावादी र हिन्दुवादीले ठूलो कसरत गरेका छन् । पूर्वराजाको नेपालगञ्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ ।

राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभाका सांसद डा. धवलशमशेर राणाको संयोजकत्वमा राजावादी र हिन्दुवादी संघ संंस्था तथा राजा चाहने व्यक्तिहरुलाई समेटेर मूल समिति बनाइएको छ ।

नितु चन्दको संयोजकत्वमा स्वागत, ओमप्रकाश आजादको संयोजकत्वमा मञ्च व्यवस्थापन, ऋषिराज देवकोटाको संयोजकत्वमा प्रचार प्रसार, नन्दलाल बैश्यको संयोजकत्वमा आर्थिक, तारामान कुँवरको संयोजकत्वमा यातायात, विन्दु चर्तिमगरको संयोजकत्वमा संघ संंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयंसेवक, मंगल जीएमको संयोजकत्वमा सुरक्षा, पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचार प्रसार सामाग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दिन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति बनाएर परिचालन गरिएको छ ।

उपसमितिका संयोजकले आ–आफ्ना समितिलाई पूर्णता दिदै काम गरिरहेका छन् । राप्रपाका सहमहामन्त्री एवं प्रचार प्रसार उपसमितिका संयोजक ऋषिराज देवकोटाका अनुसार, पूर्वराजा परिवारसहित भोली शुक्रबार नेपालगञ्ज आउदैछन् । साँझ नेपालगञ्ज आउने पूर्वराजाको १७ गते जुम्ला भ्रमण छ भने १८ गते नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

एक महिना नेपालगञ्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने पूर्वराजाको २० गते नेपालगञ्जको रामलिला मैदानमा नागरिक अभिनन्दन कार्यक्रम रहेको छ । नेपालगञ्जमा हुने नागरिक अभिनन्दनलाई विशेष बनाउन राजावादी र हिन्दुवादी संघ संस्था, राजसंस्था चाहने व्यक्ति दिनरात खटिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !