शक्ति समूहले नाकामा राखिदियो सीसी क्यामेरा
नेपालगञ्ज – मानव बेचबिखनविरुद्ध काम गर्दै आएको शक्ति समूहले नेपालगञ्जको जमुनाहा नाकामा सात वटा सीसी क्यामेरा जडान गरिदिएको छ ।
महिला तथा बालबालिकालाई भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण कामका लागि लैजाने प्रमुख नाकामध्येको चर्चित नेपालगञ्ज नाकामा बेचबिखन रोकथामका लागि शक्ति समूहले सीसी क्यामेरा जडान गरेको हो ।
नाकामा सात वटा सीसी क्यामेरा जडान गरिएको छ । जसको आइतबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहका अध्यक्ष चरिमाया तामाङले उद्घाटन गर्नुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले सीसी क्यामेराले सीमा नाका व्यवस्थापनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मानव बेचबिखनलगायतका अपराधिक गतिविधिलाई नियन्त्रणमा सहयोग हुने बताउदै यसको मर्मत र प्रयोगलाई दीर्घ बनाइने बताउनुभयो ।
शक्ति समूहका अध्यक्ष तामाङले सीसी क्यामेराले मानव बेचबिखन रोकथामसँगै प्रमाण संकलनमा मद्दत पुग्ने बताउनुभयो ।
बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष राठौर, सशस्त्र प्रहरी प्रमुख एसपी रमेशविक्रम शाही, अधिवक्ता बसन्त गौतम, शक्ति समूहका लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले मानव बेचबिखन रोकथाम सबैको साझा दायित्व भएको बताउदै नाकाको निगरानीलाई प्रभावकारी बनाउन सीसी क्यामेराले सघाउ पुग्ने बताउनुभयो ।
शक्ति समूहले इलाका प्रहरी कार्यालय, जमुनाहाको हाताभित्र बालमैत्री मनोविमर्श परामर्श केन्द्र र जिल्ला प्रहरी कार्यालयमा बाल निगरानी कक्ष बनाएको छ । सात वटामध्येमा चार वटा नाकामै, दुई वटा बालमैत्री मनोविमर्श परामर्श केन्द्र र एउटा इप्रका जमुनाहाको कार्यालयको अगाडि बाटोमा सीसी क्यामेरा राखिएको छ ।