धर्म संस्कृतिको संरक्षणले मात्र राष्ट्रियताको जगेर्ना गर्छ

नेपालगञ्ज – नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् ।

उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

राष्ट्रिय एकता अभियानले बुधबार नेपालगञ्जमा गरेको नेपाली संस्कृति र विकास क्षेत्र नेपाल-भारत सहकार्य विषयक विचार गोष्ठिमा बोल्ने सहभागीले सो कुरा बताएका हुन् ।

उनीहरुले धर्म संस्कृतिको सवाल होस् वा ठूला र मध्यवर्ती परियोजनानै किन नहोस्, व्यापार र पारवहनको क्षेत्रमा पनि नेपाल- भारत दुबै देशबीच सहयोग आदानप्रदान भइरहेको पनि स्मरण गरेका थिए ।

गोष्ठीमा बोल्दै पूर्व मन्त्री सर्वदेब ओझाले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल-भारत बीचको सम्बन्ध सदियौं वर्ष पुरानो रहेकाले यसको निरन्तरता अहिले पनि कायमै रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द्व निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।

नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारीले देशको धर्म संस्कृति र राष्ट्रियता माटोसँग जोडिएको धारणा व्यक्त गरे । उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौं वर्ष पुरानो भएको स्मरण गरे । नेपाल- भारतबीच धार्मिक, सांस्कृतिक तथा व्यापारीक हिसाबले अत्यन्त सकारात्मक सम्बन्ध रहेको अधिकारीको भनाइ छ । उनले दुबै देश सार्बभौमसत्ता भएकोले कसैले कसैको दबाब स्वीकार्य सम्भव नभएको उल्लेख गरे ।

अन्तरास्ट्रिय संस्कृतिका महासचिव हर्क स्वाँरले नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिकरुपमा बलियो भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले धर्मको नाममा भइरहेको राजनीतिले स्वाभिमान गुम्दै गएको टिप्पणी गरे । उनले धर्म र राष्ट्रियताला सवालमा गरिने राजनीतिले देश कमजोर हुने उल्लेख गरे । उनले सनातन धर्म संस्कृतिको संरक्षणले मात्र देशको राष्ट्रियता जोगिने जिकिर गरे ।

राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष बिनय यादवले संस्कृतिको संरक्षणले मात्र राष्ट्रियता बलियो हुने बताए । उनले नेपालको सनातन संस्कृति पछिल्लो अवस्थामा कमजोर हुंदै गएका कारण अहिले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गरे । उनले भारत र नेपालको संस्कृति र परम्परा उस्तै-उस्तै भएकाले त्यसको संरक्षणका लागि दुबै देशबीचको समन्वय र सहकार्य जरुरी रहेको बताए । छिमेकी देशहरुसँगको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई विकास र प्रबर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

गोष्ठीमा संबिधान सभा सदस्य सन्ध्या देव, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिका महासचिव नवीन गिरी, संचारकर्मी, बुद्धिजीवी, विभिन्न कलेजका बिद्यार्थीकाे  सहभागीता रहेको थियो । भरत बिश्वकर्माको अध्यक्षतामा भएको विचार गोष्ठीको संचालन चक्र रावतले गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !