भारतीय बाटो प्रयोग गर्ने बाध्यता हट्ने भएपछि रोशनपुरुवाबासी खुशी
नरैनापुर – नरैनापुर गाँउपालिकाले ३ करोड लागतमा रोशनपूर्वाको रोड निर्माण सुरु पछि स्थानीय हर्षित भएका छन् । नरैनापुर वडा नं. २ मा पर्ने रोशनपूर्वा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोशनपूर्वा गाँउका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी मोहम्मद मुज्ममीलले बताउनु भयो ।
रोशनपूर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाँउपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी नजिर खाँले भनाई थियो ।
वर्षौ पछि गाँउपालिकाले बाटोको निर्माण शुरु गरे पछि स्थानीय उत्साहित भएका छन् । स्थानीय नजिर खाँले भन्नुभयो, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएनन्, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चित थिए । तर अब रोड बने पछि सहजता आउने छ ।”
६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा १ सय ५० रुपैया र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताउनु भयो ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाँउपालिकासंग रोशनपूर्वालाई जोड्ने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निर्माण शरु गरिएको बताउदै अब रोशनपूर्वाका नागरिकलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गर्नु भयो ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निर्माण शरु भएको बताउदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिनु भएको थियो ।