कोहलपुरमा ऐलानी जग्गा नापजाँच तीब्र, वडा नम्बर २ मा सकियो
कोहलपुर – कोहलपुर नगरपालिकाले ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको छ। भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउन जग्गा नापजाँचलाई तीब्रता दिइएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिनुभयो।
मंगलबारदेखि कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पनि ऐलानी जग्गा नापजाँच सुरु भएको छ। अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिनुभयो ।
वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित १ हजार ६८० कित्ता रहेको शाहले बताउनुभयो ।
यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा वडा नम्बर १ मा मात्रै ऐलानी जग्गा नापजाँच पूरा भएको थियो । वडा नम्बर १ मा एक हजार ५६६ कित्ता नापजाँच भएको थियो ।
वडा नम्बर २ मा मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नापजाँच भएको थियो ।
नगर प्रमुखमा आचार्य नेतृत्वको जनप्रतिनिधि आएपछि भने कोहलपुरमा ऐलानी जग्गा नापजाँच कार्यलाई तीब्र पारेको हो । वडा नम्बर २ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ । वडा नम्बर २ मा ऐलानी जग्गा नापजाँचको काम आज पूरा भएको वडा अध्यक्ष हरिसिंह कठायतले जानकारी दिनुभयो ।
अबको २र३ महिनामा नापजाँचको काम सक्ने गरि आफुहरु लागेको नगर प्रमुख आचार्यको भनाइ छ ।
नगर उपप्रमुख संगिता सुवेदीले अब कोहलपुर नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिक जमिनका मालिक बन्ने बताउनुभयो ।
कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक समेत रहनु भएका वडा नम्बर १२ का वडा अध्यक्ष शाहले ऐलानी जग्गा नापजाँचमा २१ जनाको अमिन टोली खटिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोहलपुर नगरपालिकाबाट ९ जना, भूमि आयोगबाट ६ जना र जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित ६ जना गरी २१ जना अमिनको टोली खटिएको हो । उहाँले तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नापजाँच सुरु हुने बताउनुभयो।
कोहलपुर नगरपालिकामा यसअघि भूमिहीन दलित,भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छ्न् ।