रोकियो दादुरा संक्रमण
नेपालगञ्ज – नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छ ।
नयाँ विरामी देखा पर्न छोडेसँगै २२ दिनसम्म निरन्तर चलेको खोप अभियान पनि स्थगित भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार, पुस १२ गतेदेखि दादुरा संक्रमण फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो । यो अवधिमा नेपालगञ्जमा २ सय २९ जना दादुरा संक्रमित फेला परेका थिए । अहिले ८ जना घरमै बसेर उपचार गरिरहेका छन् । अरु सन्चो भइसकेका छन् ।
सरकारले सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिइरहदा नेपालगञ्जमा दादुरा महामारी नै फैलिएको थियो । नेपालगञ्जमा ६ महिनादेखि १५ वर्ष उमेरका ४६ हजार ५ सय ६३ जना बालबालिकालाई खोप लगाइएको छ ।
नेपालगञ्जसँगै जिल्लाको खजुरा, कोहलपुर, डुडुवा र नरैनापुर गाउँपालिकामा पनि दादुरा देखिएको थियो । निरन्तरको खोप अभियानपछि यी पालिकामा पनि दादुरा संक्रमण न्यूनीकरण भएको छ ।