शहिद दिवसमा कांग्रेसले आश्रममा खाना खुवायो
नेपालगञ्ज – नेपाली कांग्रेस बाँकेले सामाजिक सेवाभावमा अग्रसरता बढाएको छ । सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको कांग्रेस बाँकेले राष्ट्रिय शहिद दिवसको अवसरमा वीर सहिदहरुको सम्झना गर्दै आज नेपालगञ्ज-१०, आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ ।
मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई विहानको खाना खुवाइएको हो । त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पूण्य काम प्रशंसनीय भएको बताए । उनले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले संचालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा निस्शुल्क उपचारसंगै औषधिको व्यवस्था मिलाउने उद्घोष समेत गरे ।
सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर शहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताए । उनले बेसहारा नागरिकलाई खाना खुवाउन पाउँदा सन्तोष मिलेको बताए । उनले यो पटक कांग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।
मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिए ।
कार्यक्रममा पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ लगायतले शहिदहरुको स्मरण गर्दै बेसाहारा नागरिकलाई खाना खुवाउने जस्तो पूण्य काम अत्यन्त प्रशंसनीय भएको बताए ।