श्रीमानले जलाएकी महिलालाई थप उपचारका लागि काठमाडौं लगियो

 

नेपालगञ्ज – श्रीमानले पेट्रोल छर्केर आगो लगाइएकी कोहलपुरकी महिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. २ का भानुभक्त विकले २६ वर्षीया श्रीमती गंगा र दुई वर्षीय छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका
थिए । आगलागीबाट प्रिन्सको मृत्यु भइसकेको छ । गम्भीर घाइते रहेकी गंगालाई थप उपचारका लागि मंगलबार दिउँसो काठमाडौं पठाइएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईका अनुसार, घाँटी र ढाडसहित शरीरका १८ प्रतिशत भाग जलेकी गंगालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । महिलालाई एम्बुलेन्समा काठमाडौं लगिएको छ ।

जलेका आमा र छोरालाई कोहलपुर मेडिकल कलेजमा उपचार गरेर सोमबार विहान २ बजे भेरीमा ल्याइएको थियो । विहान ६.३० बजे छोराको मृत्यु भएको थियो । कोहलपुर प्रहरीले श्रीमती र छोरालाई आगो लगाउने विकलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !