बाँके–२ मा समानुपातिक मतमा जसपा अगाडि
नेपालगञ्ज – बाँके क्षेत्र नं. २ को समानुपातिक मतमा जसपा झण्डै दोब्बर मतले अघि देखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका समेटिएको क्षेत्र नं. २ मा जसपाले समानुपातिकमा २० हजार १ सय ९५ मत ल्याएको छ । दोस्रो भएको राप्रपाले ११ हजार ३ सय ४८ मत ल्याएको छ । नेपाली कांग्रेसले १० हजार १ सय ७५, एमालेले ९ हजार ३ सय ५० र घण्टीले ४ हजार ९७ मत ल्याएको छ ।
समानुपातिक मतलाई हेर्दा एक्लाएक्लै चुनाव लडेको भए यहाँबाट जसपाका उम्मेदवारले जित्ने देखिएको छ । तर, राप्रपा र एमालेको गठबन्धन रहेको क्षेत्र नं. २ मा कांग्रेसको ठूलो तप्काले राप्रपाका उम्मेदवार डा. धवलशमशेर राणालाई मत दिएको छ ।
यो क्षेत्रबाट राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा विजयी भइसकेका छन् । डा. राणाले २९ हजार ५ सय ७७ मत ल्याउदा निकटतम प्रतिस्पर्धी जसपाका मो. इस्तियाक राईले २३ हजार ५ सय २० मत ल्याएका थिए । समानुपातिकमा १० हजार १ सय ७५ मत ल्याएको कांग्रेसले प्रत्यक्षमा ४ हजार ४ सय ३ मत ल्याएको थियो ।