बाँकेको १ र ३ मा एमाले र २ मा राप्रपाको अग्रता
नेपालगञ्ज – बाँकेका दुई वटा निर्वाचन क्षेत्रमा एमाले र एउटामा राप्रपाले अग्रता लिएको छ ।
नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. २ मा राप्रपाका उम्मेदवार डा. धवलशमशेर राणाले प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पारेका छन् । २८ हजार १ सय ७५ मत गनिरहदा डा. राणाले १२ हजार ३ सय ५४ मत ल्याएका छन् । जसपाका मो. इस्तियाक राईले ७ हजार ७४ र कांग्रेसका सुदीपनरसिंह राणाले एक हजार ६ सय ४३ मत ल्याएका छन् ।
क्षेत्र नं. १ मा एमालेका सूर्य ढकालले शुरुवातदेखि नै अग्रता लिइरहेका छन् । यहाँ ११ हजार ७ सय ५४ मत गन्दा ढकालले ३ हजार ९ सय ६४ मत ल्याएका छन् । उनलाई माओवादी केन्द्रका महेश्वर गहतराज (अथक) ले पछ्याइरहेका छन् । गठबन्धनका उम्मेदवार खेलकुद मन्त्री अथकले तीन हजार १८ मत ल्याएका छन् । एक हजार ५ सय ६ मत बदर भएको छ ।
क्षेत्र नं. ३ मा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले अग्रता लिइरहेका छन् । १५ हजार ३ सय २५ मत गन्दा एमालेका कक्षपतिले ५ हजार ८ सय ६१ र कांग्रेसका किशोरसिंह राठौरले ५ हजार ६ सय १७ मत ल्याएका छन् । ९ सय ४६ मत बदर भएको छ ।