बाँकेमा सूर्य, धवल र किशोर अगाडि

नेपालगञ्ज – बाँकेको तीन वटा निर्वाचन क्षेत्रमध्ये एमाले, राप्रपा र कांग्रेसले अग्रता लिएका छन् ।

क्षेत्र नं. १ मा एमालेका सूर्य ढकालले शुरुवातदेखि नै अग्रता लिइरहेका छन् । माओवादी केन्द्रका उम्मेदवार खेलकुद मन्त्री महेश्वर गहतराजलाई एमालेका केन्द्रीय सदस्य ढकालले भेटाउन दिएका छैनन् ।

क्षेत्र नं. १ मा नरैनापुर गाउँपालिकाको गणना सकिएको छ । अहिले राप्तीसोनारी गाउँपालिकाको गणना भइरहेको छ । अहिलेसम्म एमालेका ढकालले ६ हजार १ सय ४२ र माओवादीका महतराजले ५ हजार २ सय ११ मत ल्याएका छन् ।

गठबन्धनका उम्मेदवार मन्त्री गहतराजलाई नरैनापुर गाउँपालिकामा पछाडी पार्दा समग्र नतिजामा असर पर्ने विश्लेषण गरिएको छ । क्षेत्र नं. १ मा नरैनापुर, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका पर्छन् ।

एमालेको राम्रो संगठन नभएको मानिएको नरैनापुरमै ढकालले अग्रता लिएर आउनुले जित्ने आधार बलियो भएको एमालेका नेताहरु बताउँछन् । नरैनापुर गाउँपालिकामा एमालेले कुनै पनि वडासम्म जितेको छैन । राप्तीसोनारी गाउँपालिकामा धेरै वडा जितेको छ भने कोहलपुरमा पनि उसको संगठन राम्रो मानिन्छ ।

क्षेत्र नं. २ मा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले शुरुवातदेखि नै अग्रता लिइरहेका छन् । एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका डा. राणालाई कांग्रेसको समेत मत आएको छ । कांग्रेसले अन्तिम समयमा सुदीपनरसिंह राणालाई उठाएको थियो । अहिलेसम्मको नतिजालाई हेर्दा सुदीपलाई कार्यकर्ताले मत दिएको देखिदैन । पूर्वमन्त्री जसपाका नेता मो. इस्तियाक राईले डा. राणालाई पछ्याइरहेका छन् । उनीहरुबीचको अन्तर ५ हजारबढी मत रहेको छ ।

बाँके क्षेत्र नं. २ मा नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका पर्दछ । यो क्षेत्रमा २८ हजार १ सय ७५ मत गनिसकिएको छ । २१ हजार २ सय ९० गन्ने क्रम चलिरहेको छ । मत गणना भइरहदा डा. राणाले १५ हजार ६२ र मो. इस्तियाकले दश हजार २२ मत ल्याएका छन् । एमाले र राप्रपा एकातिर तथा जसपा र कांग्रेस एक्लाएक्लै चुनाव लडेपनि मो. इस्तियाकलाई पराजित गर्न कांग्रेसले डा. राणालाई मत दिएको देखिन्छ ।

क्षेत्र नं. ३ मा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले अग्रता लिएका छन् । सोमबार विहान सवा आठ बजेदेखि मतगणना भएको क्षेत्र नं. ३ मा लामो समयसम्म एमालेका जिल्ला अध्यक्षसमेत रहेका किस्मतकुमार कक्षपतिले अग्रता लिएका थिए । बैजनाथ गाउँपालिकाको गणना अन्तिममा आउदा राठौरले अग्रता लिएका छन् । राठौरले ८ हजार ९ सय २३ मत ल्याउदा किस्मतले ८ हजार ४ सय ६६ मत ल्याएका छन् ।
क्षेत्र नं. २ को दुवै प्रदेश सभाको मत गणना भइरहेको छ । दुवैमा जसपाका उम्मेदवारहरु भण्डारीलाल यादव र आदेश अग्रवालको अग्रता रहेको छ । क्षेत्र नं. ३ को कमा एमालेका रत्न खत्रीले अग्रता लिइरहेका छन् । अन्य प्रदेशको गणना हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !