बृहत शान्ति सम्झौताको स्मरणमा नेपालगञ्ज म्याराथन
नेपालगञ्ज – दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिन ०६३ मंसिर ५ गतेको स्मरणमा नेपालगञ्ज म्याराथन आयोजना गरिदै आएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने नेपालगञ्ज म्याराथन हरेक मंसिरको पहिलो शनिबार हुने गर्दछ ।
आमनिर्वाचनका कारण यसबर्ष भने आठौं धारा नेपालगञ्ज म्याराथन मंसिर २४ गते शनिबार हुँदैछ ।
‘शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मूल नाराका साथ आायोजना हुने आठौं धारा नेपालगञ्ज म्याराथनमा २०२२ को तयारी तिब्र पारिएको छ । मंसिर ५ गते नेपालगञ्ज स्थित बीपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरिएको छ ।
नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो भने बीपी चोकमा अर्का संरक्षक सदस्य सन्तोष खड्काले आरम्भ गर्नुभयो । यसबर्ष दुई दिने कार्यक्रमसहित म्याराथनलाई महोत्सवमय बनाइनेछ । अघिल्लो दिन नगरपालिका परिसरमा एक्स्पो रहनेछ । त्यसका लागि स्थानीय संघ संस्थालाई आह्वान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका अगाडि सुरु-समापन गेट रहने आठौं धारा नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ । लामो दुरीका धावकलाई उत्साह थप्न सम्पुर्ण जिल्लावासीलाई आआफ्नो तहबाट सहभागिता जनाउन आग्रह गरिएको छ । सहभागिता एवं सक्रियताका आधारमा व्यक्ति एवं संघसंस्थालाई सरप्राइज पुरस्कार तथा सम्मानपत्र प्रदान गरिनेछ ।