आठौं धारा नेपालगञ्ज म्याराथनमा प्याब्सनको साथ

नेपालगञ्ज – बाँके जिल्लामा सञ्चालित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)सँग आवद्ध विद्यालयहरुले आठौं धारा नेपालगञ्ज म्याराथनलाई भव्य बनाउन सहयोग गर्ने बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बाँकेका तीनवटै निर्वाचन क्षेत्रलाई जोड्ने कार्य गरेको हुँदा नेपालगञ्ज म्याराथन सिंगो बाँके जिल्लाकै सम्पत्ति रहेको बताए । ‘शिक्षा र खेलकुद एकआपसमा घनिष्ठ सम्बन्ध रहेको विधा हो,’ अध्यक्ष रावतले भने, ‘जिल्लामा हुने ठूला खेल इभेन्टमा आफ्ना बालबालिकालाई सक्रिय सहभागी गराउनु हामी सबैको कर्तव्य हो । तसर्थ नेपालगन्ज म्याराथनमा धेरै भन्दा धेरै बालबालिकालाई भाग लिने वातावरण बनाउन सबै विद्यालयलाई आग्रह गर्दछु ।’

कार्यक्रममा प्याब्सन नेपालगञ्ज उपमहागरपालिका समितिका अध्यक्ष विकास बज्राचार्यले नेपालगञ्ज म्याराथन सबैको गौरवको बिषय भएको बताउँदै यसलाई सफल पार्न पालिका अन्तर्गतका विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए ।

प्याब्सन बाँकेका अर्का सल्लाहकार केसरबहादुर आलेले नेपालगञ्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा पुगिसकेको अवस्थामा अब सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताए । ‘संसारमा म्याराथन ठाउँको परिचयका रुपमा स्थापित हुन्छ,’ आलेले भने, ‘नेपालगञ्ज म्याराथन हामी सबैको परिचयसँग जोडिइसकेको छ ।’

कार्यक्रममा इकाई प्रमुख पौडेल, प्याब्सनका केन्द्रिय सदस्य सुनिल गुप्ता, लुम्बिनी प्रदेशका उपाध्यक्ष ऋषिकेश जिसी, उपाध्यक्ष शरद रावलले विद्यार्थीहरुको सर्वागीण विकासका लागि अतिरिक्त क्रियाकलापहरुमा उत्तिकै जोड दिनुपर्ने धारणा राखेका थिए ।

आयोजकले नेपालगञ्ज म्याराथनले गरेको प्रगति र यसको महत्वका बारेमा विचार राखेका थिए । आयोजकको तर्फबाट रजिस्ट्रेसन हेड कपिल थापाले इकाई प्रमुख पौडेललाई टिसर्ट हस्तान्तरण गरेका थिए ।

आठौं धारा नेपालगञ्ज म्याराथन मंसिर २४ गते शनिवार हुनेछ । हरेक बर्ष मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !