अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार
कोहलपुर – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुले बाँकेमा अपांगता भएका व्यक्तिको अधिकारलाई स्थापित गर्ने सवालमा प्रतिबद्धता जनाएका छन् ।
अपांग सशक्तिकरण तथा संचार केन्द्र (डेक नेपाल)को आयोजना तथा ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा बाँकेको कोहलपुरमा बुधवार भएको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताका लागि जवाफदेहिता कार्यक्रम अन्तर्गत ‘अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार’ कार्यक्रममा सहभागी भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा अपांगता भएका व्यक्तिहरुको सवाललाई पनि प्राथमिकता दिएको बताए ।
नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं.३ का प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो मताअधिकारको उपयोग गर्न सबैलाई आव्हान गर्नुभयो । अहिलेको संबिधानले अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो । उहाँले त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो । ‘संबिधान पूर्ण हुँदैन उहाँले भन्नुभयो–‘भएका उपलब्धिलाई संस्थागत गर्ने हो । अपांगता भएका व्यक्तिहरुको अधिकार नसमेटिएको पनि हुन सक्छ त्यसलाई आवश्यकता अनुसार थप्दै जानु पर्छ ।’
नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार सूर्य ढकालले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको सवाल अहिलेको प्रमुख एजेण्डा रहेको बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी र आर्थिक आयआर्जनका सवाललाई आफु र आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. ३ क का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले राजनीतिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरुको सवालमा पार्टी चुप लागेर नबस्ने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिहरुलाई अव भत्ता भन्दा पनि रोजगारी दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा एमालेबाट बाँके क्षेत्र नं.३ क का प्रदेशसभा सदस्य पदका उम्मेदवार रत्न खत्री, एकिकृत समाजवादीका तर्फबाट बाँके क्षेत्र १ का प्रदेशसभा समानुपातिक पदका उम्मेदवार रामकृष्ण विक लगायतले पनि अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताकाको प्रतिबद्धता जनाउनु भएको डेकका नेपालका अभियान्ता धिरेन्द्र विकले जानकारी दिनुभयो ।
कार्यक्रममा अपांगता अभियान्ता वीरेन्द्रराज पोख्रेल, देविदत्त आचार्य, गणेश पाण्डे, दोभाषे दीपाकुमारी थापासहितको उपस्थिति थियो ।