मलेसियाबाट श्रीमतीले रुँदै फोन गर्छिन्, उद्धारका लागि श्रीमानको हारगुहार

नेपालगञ्ज – दुई बच्चाकी आमा । घरपरिवारको सल्लाह अनुसार नै मलेसिया पुगिन् । ६ महिना हुन नपाउँदै महिलाले रुदै घरमा फोन गरेर आफूलाई उद्धार गर्न अनुनय विनय गरिरहेकी छन् ।

जादा श्रीमानको स्वीकृति थियो । भारत हुँदै मलेसिया पठाएका थिए । श्रीमतीलाई अप्ठेरो परेको खबर पाएपछि अहिले श्रीमान माइती नेपाल, नेपालगञ्जको शरणमा पुगेका छन् । ‘जसरी भएपनि श्रीमतीलाई नेपाल ल्याइदिन अनुरोध’ गरेका छन् ।

महिला पढेलेखेकी छैनन् । कहिले काही लुकेर फोन गर्दा ठेगानासमेत भन्न सक्दिनन् । न त उनलाई बाहिर निस्किन नै दिइन्छ ।

खाडी मुलुकबाट अप्ठेरोमा परेका महिलालाई उद्धार गर्ने सरकारी संयन्त्र छैन । न त संघ संस्थाको पहुँच नै छ । श्रीमानले कहिले फोनमा त कहिले कार्यालयमै आएर उद्धार गरिदिनु प¥यो भन्छन् । माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले ती महिलाको उद्धारका लागि प्रयास गरिरहनु भएको छ । ‘ठेगानासम्म थाहा पाउन सकेको भए सहज हुन्थ्यो । त्यही पनि हामी लागि परेका छौं, कोइरालाले
भन्नुभयो ।

माइती नेपाल, नेपालगञ्जमा खोजतलासका लागि यी र यस्तै ७ सय १२ वटा निवेदन परेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा परेका यस्ता निवेदनमध्ये २ सय ८५ जना फेला परेका छन् । नेपाल र भारतमा हराएका फेला परेका छन् । खाडी मुलुकमा पुगेकाको उद्धार गर्न चुनौती रहेको छ । कार्यालयमा परेका खोजतलासका निवेदनमध्ये २० प्रतिशतजति खाडी मुलुकको रहेको कोइरालाले जानकारी दिनुभयो ।

बैदेशिक रोजगारका लागि दलालमार्फत भारत हुँदै खाडी मुलुकमा पुगेका महिलाले दुःख पाएका छन् । घरपरिवारकै सल्लाहमा गएको पनि केही सम्पर्कमै आएका छैनन् भने सम्पर्कमा आएकाले पनि दुःख पाएकाले उद्धार गरिदिन अनुरोध गरेका छन् ।
तथ्यांक अनुसार, खोजतलासका लागि निवेदन पर्नेमा बाँके जिल्ला एक नम्बरमा रहेको छ । त्यसपछि सुर्खेत, दाङ, बर्दियालगायत रहेका
छन् ।
माइती नेपाल, नेपालगञ्जले जोखिमपूर्ण यात्रामा रहेका ६ सय २७ जनाको नाकाबाट उद्धार गरेको छ । भारत या भारत हुँदै खाडी मुलुक जान हिडेका यी महिलालाई माइती नेपालले प्रहरीसँग मिलेर नाकाबाट फिर्ता गरेको हो । यसरी फिर्ता हुनेमा सुर्खेतका धेरै महिला रहेका छन् ।

नेपालगञ्ज नाका सधैं भीडभाड हुने भएकाले दलालले भारत हुँदै खाडी मुलुक लैजानका लागि यो नाका प्रयोग गर्ने गरेको पाइन्छ । सिन्धुपाल्चोक, नुवाकोटका महिलासमेत खाडी जानका लागि नेपालगञ्ज नाका प्रयोग गर्ने गर्दछन् । सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जानेदेखि भारतमा औषधी उपचार र मौसमी काम गर्न जाने र आउनेको भीड हुने भएकाले दलालले भीडको फाइदा उठाएर भारत या खाडी मुलुक जाने महिलालाई यहाँबाट लगेको पाइन्छ । यद्यपि, नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाललगायतका संघ संस्थाले सधैं निगरानी गरिरहेका हुन्छन् ।

राम्रो काम र दामको आशामा भारत तथा खाडी मुलुकमा पुगेर अप्ठेरोमा पर्ने महिलाको उद्धार गर्न साह्रै अप्ठेरो रहेको छ । भारत तथा खाडीबाट उद्धार गर्न सरकारी संयन्त्र नहुनु र संघ संस्थाले त्यहाँका व्यक्ति वा संघ संस्था वा ती मार्फत प्रहरी प्रशासन लगाएर जोखिममा परेका नेपाली महिलाको उद्धार गर्ने गरेका छन् ।

गरिवी, अशिक्षा र देखासिकीमा महिलाहरु दलालको पञ्जामा परेर अवैध बाटोबाट खाडी मुलुकको यात्रा गर्दा जोखिममा पर्ने गरेका छन् । भारत तथा खाडी मुलुक जानेमा पछिल्लो यस क्षेत्रको पहाडी जिल्लाका महिलासमेत अगाडि देखिन्छन् ।


error: यो सुविधा उपलब्ध छैन !