बकर इदमा सडकमा नमाज

नेपालगञ्ज – मुस्लिम समुदायको ठूलोमध्येको पर्व बकर इद (इद उल अजाह) मा नेपालगञ्जमा सडकमै सामुहिक नमाज पढिएको छ ।

नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा जम्मा भएका ठूलो संख्या भित्र नअटेपछि सडकमै बसेर नमाज पढेका हुन् ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इदमा विहानै नुहाई धुवाई गरी सफा कपडा लगाएर बजार क्षेत्रका मानिस वीपीचोकमा आएका थिए । वीपीचोकस्थित इदगाहमा सामुहिक नमाज पढेपछि एक अर्कालाई शुभकामना आदान प्रदान गरिएको थियो ।

सामुहिक नमाजमा भौतिक योजना तथा यातायात मन्त्री मो. इस्तियाक राई, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुदिन राईलगायतको उपस्थिति थियो । नमाज सकिएपछि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टलगायतले वीपीचोकमा पुगेर शुभकामना आदान प्रदान गरेका थिए ।

बकर इदलाई कुर्बानीको पर्व मानिन्छ । मुस्लिम समुदायले यो पर्वमा बाख्रा काट्छन् । त्यसलाई तीन भाग लगाइन्छ । एक भाग गरीवलाई, अर्कोभाग आफन्ती र तेस्रो भाग आफूले खाने गरिन्छ । बकर इद तीन दिनसम्म धुमधामले मनाउने चलन छ ।


error: यो सुविधा उपलब्ध छैन !