गिरिजा बहुप्रतिभाशाली र बहुआयामिक व्यक्तित्व

नेपालगञ्ज – नेपाली कांग्रेसका नेताहरुले स्वर्गीय गिरिजाप्रसाद कोइराला शान्ति, क्रान्ति र परिवर्तनको नायक भएको बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले पार्टीका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको संगठन निर्माण र शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको भूमिका विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले कोइराला बहुप्रतिभाशाली र बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर कोइरालाले शान्तिको विगुल फुकेको बक्ताहरुले बताए । १० वर्षे जनयुद्धलाई अन्त्य गराएर माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाले अग्रणी भूमिका खेलेको नेताहरुले बताए ।

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्वर्गीय कोइराला कुशल संगठक भएको बताए । गिरिजाबाबुले कार्यकर्ताका कुरा सुन्नुहुन्थ्यो, मनोबल बढाउनुहुन्थ्यो, ढाडस दिनुहुन्थ्यो, बाल्मिकीले भने, उहाँ शान्ति र परिवर्तनको नायक हो, जुन कुरा बोल्नुहुन्थ्यो, त्यो पूरा गर्नुहुन्थ्यो, उहाँले बोलेपछि संसद पुनःस्थापना भयो, संविधानसभाको चुनाव भयो, मुलुक गणतन्त्रमा गयो, उहाँ नेपाली राजनीतिको अनुकरणीय व्यक्तित्व हो । कोइरालाले आफ्नो आदर्श बनाएको सहमति, सहकार्य र एकताको सूत्रबाट अब पार्टीलाई एकाकार बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता केन्द्रीय सदस्य बाल्मिकीले औंल्याए ।

नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीकोे सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णकुमारी सापकोटा, संविधानसभा सदस्य बादशाह कुर्मी र अब्दुल हमिद सिद्दिकी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, निवर्तमान जिल्ला सचिव एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, क्षेत्र नम्बर १ क का क्षेत्रीय सभापति लक्ष्मण थारु, नेपालगञ्ज नगरसभापति एवम् नगर प्रमुख प्रशान्त विष्ट लगायतले स्वर्गीय कोइरालाको मार्गदर्शनलाई अबलम्बन गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । जिल्ला सदस्य मनप्रसाद आचार्यले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने र गणतन्त्र स्थापनाको प्रमुख श्रेय गिरिजाप्रसाद कोइरालालाई जान्छ । कोइरालाको जन्म वि।सं १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री भए भने चार कार्यकाल पार्टी सभापति भए । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ मा निधन भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !