नाकामा दैनिक देखिन्छ कोरोना, कसैलाई मतलव छैन

नेपालगञ्ज – नेपालगञ्ज नाकामा भारतबाट आएका नेपालीमा दैनिक नै कोरोना पुष्टि भइरहेको छ । भारतका विभिन्न शहरबाट आएका नेपालीमा कोरोना पुष्टि भइरहदा सरोकारवाला निकायको चासो छैन भने जनताले पनि कोरोनालाई सामान्य रुपमा लिइरहेका छन् ।

शनिबार भारतबाट आएका एक सय ५१ जना नेपालीको कोरोना जाँच गरियो । त्यसमा चार जनालाई कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दुई जना बाँके, दैलेख र सल्यानका एक÷एक जना रहेका छन् ।

नाकामा रहेको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको कोहलपुर र बैजनाथ गाउँपालिकाका, दैलेख र सल्यानका एक÷एक जनालाई कोरोना पुष्टि भएको छ । उनीहरु गुजराज, सिमला र मसुरी आएका थिए ।

कोरोना पुष्टि भएकाहरुलाई सामान्य रुघाखोकी थियो । जाँच गर्दा कोरोना देखिएकालाई सामान्यलाई जसरी नै घर पठाइएको छ ।
नेपालगञ्ज नाकामा शुक्रबार र बिहीबार ५÷५ जनालाई कोरोना पुष्टि भएको थियो । भारतको विभिन्न शहरमा मौसमी काम गर्न गएका नेपालीलाई घर फर्किदा कोरोना पुष्टि हुने गरेको हो । कोरोना पुष्टि हुनेहरु धैरैजसो दैलेख, जाजरकोट, रुकुमका छन् । यी जिल्लाका धेरै मानिस मौसमी कामका लागि भारतको कालापहाड, सिमला, प्रयाग, गुजरातलगायत शहरमा काम गर्न जाने गर्दछन् ।

ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, असार महिनामा ३९ जनालाई कोरोना पुष्टि भएको छ । दुई हजार एक सय ७० जनाको जाँच गर्दा ३९ जनालाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरु केहीले कोभिडविरुद्धको कुनै पनि खोप लगाएका छैनन् । केहीले तेस्रो डोज लगाएका छन् भने धेरैजसोले दोस्रो डोज लगाएका छन् । ज्ञवालीले कोरोना भएकामध्ये ५ जनाले कुनै पनि खोप नलगाएको, ५ जनाले तेस्रो डोज लगाएको र २९ जनाले दोस्रो मात्रा लगाएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !