जिसस प्रमुखका लागि दुई जनाको उम्मेदवारी, उपप्रमुख निर्विरोध

नेपालगञ्ज – जिल्ला समन्वय समितिको प्रमुखमा दुई जनाको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी र जनता समाजवादी (जसपा) का उमेशकुमार कुर्मीले प्रमुखमा उम्मेदवारी दिएका हुन् ।
कांग्रेसका चौधरी यसअघि उपप्रमुख थिए । चौधरी डुडुवा गाउँपालिका वडा नं. १ का सदस्य हुन् । कुर्मी जानकी गाउँपालिका वडा नं. ३ का सदस्य हुन् ।

उपप्रमुखमा कांग्रेसकी सीता कार्कीको मात्रै उम्मेदवारी परेको छ । एक जनाको मात्रै उम्मेदवारी परेपछि कार्की निर्विरोध भएकी छन् ।
दलित अल्पसंख्यक सदस्यमा जगदीश बाल्किमी, खुल्लद सदस्यमा उदयनारायण मिश्र, जुल्फेकार अलि मनिहार, सन्तकुमार थारु निर्विरोध भएका छन् । तीन जना महिला सदस्यका लागि चार जनाको उम्मेदवारी परेको छ ।

२७ गते चुनावको मिति तय गरिएको छ । जिल्ला समन्वय समितिमा कांग्रेसको स्पष्ट बहुमत रहेको छ । आठ वटा पालिकाका प्रमुख र उपप्रमुखले जिल्ला समन्वय समितिमा मत हाल्न पाउँछन् । त्यसमा कांग्रेसका १२ जना रहेका छन् । जसपाका तीन जना र माओवादीका एक जना रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !