नेपालगञ्जका मेयरले पहिलो दिन गरे आठ बुँदे निर्णय

नेपालगञ्ज – नेपालगञ्जका जनप्रतिनिधिले शपथ खाएका छन् । शपथ खाएसँगै उनीहरुको पदभार ग्रहण पनि भएको छ ।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले नेपालगञ्जका मेयर प्रशान्त विष्टलाई शपथ खुवाए । लगत्तै विष्टले उपमेयर कमरुद्दिन राईसँगै वडाध्यक्ष र सदस्यहरुलाई शपथ खुवाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका परिसरमा कार्यक्रममा आयोजना गरी शपथ खुवाइएको थियो । शपथ ग्रहण तथा स्वागत कार्यक्रममा संघीय सांसद मो. इस्तियाक राई, प्रदेश सांसद मो. याकुव अन्सारी, निवर्तमान मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, विभिन्न दलका प्रतिनिधिले जनताको कामलाई प्राथमिकतामा राखेर सहज र छिटो छरितो तरिकाले गर्न सुझाव दिए ।

मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्दिन राईले ले साझा व्यक्ति भएर भेदभावरहित तरिकाले नगरको विकास गर्ने प्रतिबद्धता गरे ।

शपथ ग्रहण लगत्तै मेयर र उपमेयरलाई पदभार हस्तान्तरण गरिएको थियो । निवर्तमान मेयर डा. राणाले विष्टलाई कुर्सी बसाए ।

नयाँ मेयर र उपमेयरलगायतको बैठकले पहिलो दिन ८ बुँदे निर्णय गरेको छ । अपांगलाई सहजताका लागि लिफ्टको व्यवस्था गर्ने, सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमा वडाबाट वितरण गर्ने, भेरी अस्पतालमा सञ्चालित २० रुपैयामा खाना खुवाउने अञ्जली माता रसोईलाई मासिक ५० हजार दिदै आएकोमा अबदेखि एक लाख रुपैया दिने, पशु विमालाई जोड दिने, फोहोर व्यवस्थापनमा जोड दिने, तत्कालै नाली सरसफाई गर्ने निर्णय गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !