त्रिकोणात्मक चुनाव : प्रशान्त, पशुपति र नन्दलाल

बसन्त कुमार उपाध्याय –

नेपालगञ्ज उपमहानगरपालिकाको चुनाव त्रिकोणात्मक हुने संकेतहरु देखिएका छन् । यी मध्ये कसैलाई कमजोर र कसैलाई अब्बल भनिहाल्न सकिन्न । ब्यक्तिको ब्यक्तित्वको प्रभाव यी तिनै जनाको अग्निपरिक्षा हो ।
अर्कातर्फ प्रमुख प्रतिपक्ष दलका प्रतिनिधि पशुपतिदयाल मिश्रा पनि यो पटकको चुनावमा बल जोरले होमिएका छन् । नेपालगञ्जमा मिश्राको ब्यक्तिगत प्रभावलाई कमजोर आँक्नु हुँदैन ।

नेपालगञ्जमा सत्तारुढ गठबन्धनका दुई अनुहार प्रशान्त विष्ट र कमरुद्दिन राई चुनावी अभियानमा संयुक्त रुपमा अघि बढेका छन् । तर वडा तहमा गठबन्धन हुन सकेन । यो चुनौती छ गठबन्धनलाई । विष्ट नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरको मेयर पदमा र जनता समाजवादी पार्टीका राई उपमेयरका उम्मेद्वार हुन् ।

बाँके जिल्लाको मात्रै नभएर सुदूर र लुम्विनी प्रदेशकै महत्वपूर्ण गेटवे हो नेपालगञ्ज । यहाँको राजनीतिक नेतृत्वको प्रभाव यतिमा मात्रै सीमित रहँदैन । बाँके त्यसमा पनि नेपालगञ्जका नीतिले कर्णाली प्रदेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशका जनताको जीवनयापनमा प्रभाव पार्छ ।

विद्यार्थी फाँटबाट राजनीतिमा कदम बढाएका मेयर पदका उम्मेद्वार विष्ट दलहरुबीच समन्वयकारी भूमिकामा पचाईएका उम्मेद्वार हुन् भने उपमेयरका उम्मेद्वार राई मधेश आन्दोलनबाट उभ्रिएको शक्ति जसपाका राजनीतिक चेहरा हुन् ।
नेपालगञ्ज धार्मिक र सामुदायीक रुपमा मात्रै नभएर बहुभाषिक क्षेत्र पनि हो । यहाँको चुनावी परिणामका लागी कुनै एक फ्याक्टरले मात्रै काम गर्दैन ।

२०६३-६४ ताकाको मधेश मुभमेन्टले स्थापित गरेको शक्ति जसपाको बाक्लो उपस्थिति छ। मुस्लिम समुदायको मत पनि निर्णायक नै नभए पनि महत्वपूर्ण अंक गणितमा पर्छ । त्यही शक्तिका एक अनुहार हुन् एमालेमा पुगेका मिश्रा पनि ।

कुनैबेला टावरिङ्ग पर्सनालिटि स्व. सुशील कोइरालाको क्षेत्रका रुपमा रहेको नेपालगञ्जमा यतिबेला उच्च तहको राजनीतिक नेतृत्वबाट टाढा भएको छ । बेला बखत केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड आउँदा तरङ्गिग मात्रै हुन्छ । तर स्थानीय तहमा चुनावमा होमिने स्थानीय उम्मेद्वारहरुले आँफुलाई कत्तिको खरो उतार्ने छन् मतदाता पर्ख र हेरको नीतिमा रहेको अनौपचारिक सर्भेक्षणहरुले देखाइरहेका छन् ।

अर्कातर्फ मेयर जितेको राप्रपाका उम्मेद्वार नन्दलाल बैश्य पनि प्रतिष्पर्धामा उत्तिकै चर्चा बोकेका ब्यक्ति हुन । बैश्य माओवादीबाट चुनावको केही दिन अघि मात्रै राप्रपा प्रवेश गरेका थिए । उनको समुदाय आधारित मत बलियो रहेको आंकलन गरिएको छ । मेयर डा. धवलशमशेर राणालाई आफ्नो शाख जोगाउने चुनौती पनि उत्तिकै छ ।

६२ हजार ३ सय ९७ मत मध्ये १२ हजार ५ सय १५ मत पाएर २०७४ सालमा मेयर जितेका राणालाई ८१ हजार ७सय ९४ मतमा आफ्ना उम्मेद्वारलाई चुनाव जिताउन सजिलै भने छैन ।

२०७४ सालमा नेपालगञ्ज उपमहानगरपालिक, राप्रपा १२ हजार ५सय १५, कांग्रेसले ८ हजार ७ सय ३० र माओवादीले ७ हजार १ सय ९८ र एमाले ६ हजार ९ सय ६५ मत पाएका थिए ।

नेपालगञ्जमा सैद्दान्तिक मतको प्रभाव भन्दा अन्य तत्वले चुनाव जिताएको इतिहास छ । त्यसको उदाहरणका रुपमा मेयर राणालाई नै लिन सकिन्छ ।

नेपालगञ्जको तापक्रम जति जति उकालो लाग्दैछ चुनावी माहोल पनि तातिंदै गइरहेको छ । अन्य दल र अरु उम्मेद्वारहरु सँगै नेपालगञ्जको चुनाव दलगत मात्रै नभएर प्रशान्त, पशुपति र नन्दलालका बीच हुने देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !