नेपालगञ्ज पर्यटकको ‘प्रवेशद्वार’

नेपालगञ्ज – बाँके सीमावर्ती जिल्ला हो । सदरमुकाम नेपालगञ्ज भारतसँग जोडिएको छ । पश्चिम नेपालको सुविधा सम्पन्न शहर नेपालगञ्ज भारत आवतजावत गर्ने प्रमुख मार्ग पनि हो ।

नेपालगञ्जदेखि भारतको ठूलोमध्येको शहर लखनऊ नजिक पर्दछ । राम्रो सडक सञ्जाल भएकाले नेपालगञ्ज–लखनऊ टाढा छैन ।

पश्चिम नेपालमा पर्यटकलाई लोभ्याउने धेरै ठाउँ छन् । अझ विशेष गरेर ठूलो संख्याका भारतीय मानसरोबर पुग्ने
गर्दछन् । मानसरोबर जानेहरु नेपालगञ्ज भएर जाने गर्दछन्, चाहे त्यो जहाजमा काठमाडौंबाट नेपालगञ्ज हुँदै होस् या सवारी साधनबाट नेपालगञ्ज भएर ।

नेपालगञ्ज भएर पश्चिमका पर्यटकीय गन्तब्यमात्रै होइन, मानसरोबर पुग्ने भारतीयहरु केही समयका लागि नेपालगञ्जमा बस्ने गर्दछन् । नेपालगञ्जमै थुप्रै पर्यटकीयस्थल बनिसकेका छन् । शक्तिपीठ बागेश्वरी पर्यटकको पहिलो रोजाईमा
पर्दछ । नेपालगञ्ज आउने भारतीय पर्यटक बागेश्वरी मन्दिरमा पुग्ने गर्दछन् । वाटरपार्क, कान्ति ताल पर्यटकीय स्थलको रुपमा विकास भइरहेका छन् । बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको अर्को गन्तब्य भइरहेको छ । बाघको बासस्थान मानिने बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन् । अहिले बाघ गणना भइरहेको छ । पछिल्लो महिनाको गतिविधि हेर्दा बाघको संख्या बढ्ने देखिन्छ । यो निकुञ्जमा चौका पनि पाइन्छ ।

पश्चिम नेपालको विभिन्न ठाउँमा जान आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई बाँकेका यी स्थानमा डुलाएर केही दिन नेपालगञ्जमा बसाउन सकिन्छ ।

नेपालगञ्ज पश्चिमको पर्यटकस्थल जाने प्रवेशद्वार हो नै । यहाँबाट मानसरोबर, स्वर्गद्वारी, बर्दिया राष्ट्रिय निकुञ्ज, रारालगायतका ठाउँमा पर्यटक जाने गर्दछन् । नेपालगञ्ज प्रवेश गर्ने वित्तिकै पर्यटकलाई आकर्षित गराउन जमुनाहामा राम्रो स्वागतद्वार, आसपासमा सफा र व्यवस्थित गराउने रणनीति बनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका योजना शाखा प्रमुख जागेश्वर बस्नेतका अनुसार, हालै नेपालगञ्जमा भएको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाले पाँच लाख रुपैया सहयोग गरेको थियो ।

नेपालगञ्ज विमानस्थललाई भारतीय शहर लखनऊ र दिल्लीसँग जोड्न सकेमा पर्यटन प्रवद्र्धनमा अझ सघाउ हुने देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाका यसका लागि निरन्तर प्रयासमा रहेको छ । नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले नेपालगञ्जदेखि दिल्ली उडानका लागि पटक पटक प्रयास गरेका छन् । यो उडान हुने वित्तिकै नेपालगञ्जको पर्यटन व्यवसायले ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !