सुमन मल्लको एक सय १२ बुँदे प्रतिबद्धता

नेपालगञ्ज – नेकपा एमाले खजुरा गाउँपालिकाका उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, जिल्ला सचिव रत्न खत्री, निर्वाचन परिचालन कमिटिका संयोजक भीम वली, गाउँपालिकाका अध्यक्ष उम्मेदवार सुमन मल्ल, उपाध्यक्ष उम्मेदवार ताजरुन निशालगायत वडाध्यक्षहरुको उपस्थितिमा एक सय १२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्षका उम्मेदवार मल्लले किस्मतकुमार कक्षपतिको नेतृत्वमा रहेको टीमले गरेका बाँकी कामलाई निरन्तरता दिदै प्रतिबद्धता पत्रमा समेटिएका सबै कुराहरु पूरा गर्न लाग्ने बताउनुभयो । ‘प्रतिबद्धता पत्र अनुसार काम गर्छु, मल्लले भन्नुभयो, सिरानी राख्छु । कुन कति पूरा भए प्रत्येक दिन हेर्छु ।’

शिक्षामा गुणस्तरीय शिक्षाको आधार ः प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार भन्ने नारालाई अघि सारिएको छ । स्वयत्त व्यवस्थापनसहितको बुढानिलकण्ठ स्कूलको मोडलमा एक विद्यालय सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।

निरोगी खजुरा, स्वस्थ्य खजुरेली भन्ने नारा अघि सारिएको छ । हरेक महिना स्वास्थ्य शिविरदेखि १५ वर्षमुनिका बालबालिकाको मुटुको भल्व फेर्न तथा मृगौला सम्बन्धी रोगको नियमित डायलासिस गर्नुपर्ने विरामीलाई एक लाखसम्म सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।

स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी भन्ने नारा अघि सार्दै एक घर, एक धारा अभियानदेखि सबैलाई खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गरिनेछ ।

प्रतिबद्धतापत्रमा उज्यालो खजुरा, झिलिमिलि खजुरा, सडक यातायात तथा अन्य भौतिक पूर्वाधार, एकीकृत बस्ती, योजनाबद्ध शहरी विकास, समृद्धिका लागि कृषि, पशुपंक्षी र सहकारी, भूमिहीन किसान, कला र संस्कृति, पर्यटनबाट सम्बृद्धि, युवा रोजगारी र उद्यमशीलता तथा खेलकुद, महिला समानता र सशक्तीकरण, खुशी जेष्ठ नागरिक, सुखी बालबालिका अपांगमैत्री खजुरा, वन, वातावरण र विपद व्यवस्थापन, मेलमिलाप, न्याय र मानव अधिकार, संस्थागत सुदृढिकरण, योजनावद्ध विकासलगायतका शीर्षकहरु समेटिएका छन् ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रदेश कमिटिका सदस्यहरु बेदनिधि प्याकुरेल, एक माया विक, भक्तबहादुर केसी, बीरबहादुर देवकोटा, पार्टीका खजुरा गाउँपालिकाका अध्यक्ष गेहेन्द्र धिताललगायतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !