कालोपत्रे सडक निर्माणमा खजुरा अगाडि

नेपालगञ्ज – सडक, बत्ती, कलकारखाना, स्वास्थ्य र शिक्षाको सहज पहुँचलाई विकासको आधार मान्ने गरिन्छ । २०७४ सालको स्थानीय चुनावपछि आएका जनप्रतिनिधिहरु देखिने यी विकासका काम गर्न कम्मर कसेर लागे ।

जनताले आफ्नो घरसम्म पक्की सडक पुगेर सहज हिड्डुल गर्न पाउदा विकासको अनुभूति गर्दछन् । बर्खामा हिलो बाटोमा हिड्न नपरोस् भन्ने स्थानीयको चाहना हुन्छ नै । जनप्रतिनिधिहरुले पनि यो कुरालाई बुझेर सकेसम्म सडक विस्तारमा लागेको पाइयो ।

बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षमा ४४ किलोमिटर सडक कालोपत्रे गरेको छ । जिल्लामा धेरै सडक कालोपत्रे गर्नेमा खजुरा अगाडि आउँछ । खजुरामा जनप्रतिनिधि आएदेखि नै सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको थियो । पालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले पालिकाले हालसम्म ४४ किलोमिटर कालोपत्रे सडक र एक सय ५० किलोमिटर ग्राभेल गरेको जानकारी दिनुभयो ।

खजुरामा प्रदेश र संघको बजेटले पनि बाटो बनेका छन् । निर्वाचन क्षेत्र विकास र प्रदेशको समपुरकबाट बाटोमा बजेट परेका छन् । खजुराका आधा दर्जनबढी गाउँका सबै बाटो पिच भएका छन् । स्थानीयको माग पनि बढी बाटोमा नै हुने गर्दछ ।

वर्षौदेखि पुल नहुँदा सास्ती भोगिरहेको वडा नम्बर ७, करेलीबाख्राका जनताका लागि पालिकाले ट्रस पुलको पनि निर्माण गरेको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ३१ लाखमा उक्त पुल निर्माण गरिएको हो ।

खजुराले पूर्वाधारमा ठूलो लगानी गरेको छ । प्रशासनिक भवन बनाउदैछ । ५ करोड ३६ लाख लागतमा पालिकाले आधुनिक भवनको निर्माण प्रक्रिया शुरु गरिसकेको छ ।

पालिकाले हालसम्म पालिकाका ७ वटा वडालाई आफ्नो भवनमा सञ्चालन गरिसकेको छ । वडा नम्बर १, २, ५, ६, ७ र ८ वडाहरुको आफ्नै भवन निर्माण भई सञ्चालनमा रहेका छन् । वडा नम्बर ३ खजुरा बजारमा रहेको कृषि भवनमा सञ्चालित छ । जुन भवन पालिकाको स्वमित्वमा आइसकेको छ । वडा नम्बर ४ का लागि ईगाउँमा रहेको स्वास्थ्य कार्यालय नजिक भवन निर्माणका लागि पालिकाले वडासँग सहकार्य गरेता पनि केही प्राविधिक कारणले सो काम सम्पन्न हुन सकेको छैन ।

अस्पताल, स्वास्थ्य संस्था निर्माणमा खजुरा अगाडि नै देखिन्छ । खजुराले १५ शैयाको अस्पताल निर्माण गरिरहेको छ । खजुरा गाउँपालिका–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शैयाको अस्पताल निर्माण शुरु गरेको
छ ।

नेपाल सरकार संघको १८ करोड ६ लाख रुपैयाँ लागतमा उक्त अस्पतालको भौतिक निर्माणको काम सञ्चालनमा रहेको छ ।

गाउँपालिका उपप्रमुख एकमाया विकले जनतालाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले पालिकास्तरमै अस्पताल निर्माण गरेको बताउनुभयो ।

पालिकाले सबै वडामा स्वास्थ्यको पहुँच दिन आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्यचौकीका भवन निर्माण गरिसकेको
छ ।

खजुरामा आधुनिक सभाहल बनिरहेको छ । वडा नम्बर ३, खजुरामा ५ करोड ४८ लाखमा सभाहलको निर्माण शुरु गरिएको हो । सात कठ्ठामा निर्माण भइरहेको उक्त सभाहलको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
खजुराले किसानका उत्पादनलाई भण्डारण गर्न शितभण्डारको पनि निर्माण गरिरहेको छ । जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको योजना प्रमुख पौडेलले जानकारी दिनुभयो ।

खजुरा गाउँपालिका वडा नम्बर ५ मा १५ कट्ठा जमिनमा ६ करोड १४ लाख रुपैयाँको लागतमा शितभण्डार निर्माणको काम शुरु भएको हो ।

गरीव, विपन्नका लागि खजुराले ४० बढी घर निर्माण गरेको छ । ठूलो धनराशी खर्चेर पालिकाले गरीव, विपन्नका लागि बीगाउँ र गोहदनामा घर बनाइदिएको छ । जसले गरीव, विपन्नका अनुहारमा खुशी देखिएको छ । गोदहनामा विपन्नका आफ्नै घर भएको छ भने बीगाउँमा आफ्नैजसरी मज्जाले बस्ने सुविधा दिइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !