संरक्षणमा नेपालगञ्जका तालतलैया

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा रहेका तालतलैयाको संरक्षण गरेको छ ।

लामो समयदेखि बेवारिसे बनेका तालतलैयाको संरक्षण गरिएको हो । नेपालगञ्जमा रहेका रानीतलाउ, वाटरपार्क, कान्ति तालको संरक्षण गरिएको छ । रानीतलाउ, वाटरपार्क र कान्ति तालमा ठूलो धनराशी खर्च गरेर पर्यटकीयस्थलको रुपमा विकास गरिएको छ ।

नेपालगञ्जको बीच बजारमा रहेको रानीतलाउमा पछिल्लो पटक ३५ लाख रुपैया खर्च गरेर सौन्दर्यकरण गरिएको छ । बीचमा पानीको फोहोरासँगै बोटिङको व्यवस्था मिलाइएको छ । ठेक्का प्रणालीमा बेलाबेलामा रानीतलाउले मार खाने गरेको छ । ठेकेदार परिवर्तन भइरहने ठूलो समस्या रहेको छ ।

नेपालगञ्ज बजारमा आइपुगेका बाहिरी या आन्तरिक पर्यटकको लागि रानीतलाउ उपयुक्त ठाउँमा रहेको छ । रानीतलाउमा गएर केहीबेर बोटिङ गरेर मन आनन्दित गराउन सकिन्छ । रानीतलाउ परिसरमा बालबालिकालाई खेल्ने ठाउँ बनाइएको छ । आम्दानीको स्रोत बढाउन रानीतलाउमा माछा पालिएको छ ।

वाटरपार्कलाई नेपालगञ्जको अर्को पर्यटकीय स्थलको रुपमा विकास गरिदैछ । त्यसका लागि स्थानीय सरकारले भरपूर काम गरिरहेको छ । लाखौंको बजेटमा वाटरपार्कको सौन्दर्यकरण गरिएको छ । वाटरपार्कलाई पर्यटकीय वाटरपार्क बनाउन नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयले ठूलो योगदान गरेको छ ।

वाटरपार्कलाई रमणीय बनाउने काम भने सकिएको छैन । अझै यहाँ काम भइरहेको छ । बीचमा पानीको फोहोरा फालेको दृश्यसँगै डुंगामा सरर्रर घुम्ने बनाइदैछ । माछा पालेर आम्दानीको स्रोत बढाइदैछ । चारैतिर ग्रिन बेल्टको रुपमा विकास गरिदैछ । फुटपाथ र ताल वरिपरिको ६ मिटर सडक कालोपत्रे हुँदैछ । हाईमाष्ट लाइन जडान गरिएको छ । शौचालय, बाथरुम र गार्डहाउस, फुटपाथ र ट्रष्ट निर्माण गरिदैछ । वाटरपार्क करिब ११ विघा क्षेत्रफलमा फैलिएको छ ।

वाटरपार्कको इतिहास कोट्याउँदा स्थानीय डम्बर थापा भन्नुहुन्छ, पाँच दशक अघिदेखि यो ठाउँमा ताल थियो । सुरुमा स्थानीयले यसको नामाकरण गरेका थिएनन् । स्थानीयले तालमा नुहाउने र कपडा धुने गर्थे । नेपालगञ्जका धोवी समुदायले यहि तालमा कपडा पनि धुने गर्थे । नगरका सबैतिरबाट मानिसहरु यहाँ आउने र रमाउने गर्दथे । ताल छेउछाउ ईट्टाभट्टाका लागि माटो निकाल्न थालियो । ठूलो ताल भयो ।

वाटरपार्कलाई पश्चिम नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरि निर्माण कार्य थालिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट चार करोड ४६ लाखमा तालको पुनर्निर्माणको काम भएको छ । उपभोक्ता समितिमार्फत करिब ६४ लाखको काम गरिएको छ ।

२५ विगाहमा फैलिएको कान्ति तालमा साढे दश करोड खर्चेर हेर्न लायक बनाइएको छ । कान्ति तालमा गेट, सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरिएको छ । भैसी आल बस्ने ठाउँमा परिणत भइसकेको कान्ति तालको मुहार फेरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका योजना शाखा प्रमुख जागेश्वर बस्नेतले नेपालगञ्जमा रहेका तालतलैयाको संरक्षण गरेर पर्यटकीय स्थल बनाउन लागि परेको बताउनुभयो । उहाँले नेपालगञ्ज आउने बाहिरी या आन्तरिक पर्यटकलाई एक पटक पुग्नै पर्ने ठाउँको रुपमा वाटरपार्क, रानीतलाउ र कान्ति तालको विकास गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !