जसपाले केन्द्रको निर्णय नमान्ने, निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम

नेपालगञ्ज – जनता समाजवादी पार्टी (जसपा) बाँकेले केन्द्रले गरेको गठबन्धनको निर्णय नमान्ने भन्दै उक्त निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

आधा दर्जन केन्द्रीय सदस्यको उपस्थितिमा बिहीबार नेपालगञ्जमा बसेको जिल्ला कमिटिको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्रीय निर्णय अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसलाई मेयर र जसपालाई उपमेयर दिने गरी गठबन्धन गरिएको छ ।

यस्तो निर्णय बाहिर आउने वित्तिकै जसपाले विद्रोह शुरु गरेको थियो । जिल्ला सचिव राजेन्द्र विकले केन्द्रीय निर्णय नमान्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार, २४ घण्टाभित्र निर्णय सच्याउन केन्द्रलाई अल्टिमेटम दिइएको छ ।

जसपाले केन्द्रले निर्णय नसच्याए अर्कै चुनाव चिन्ह लिएर भएपनि मेयर र उपमेयरमा चुनाव लड्ने बताएको छ ।
जिल्ला अध्यक्ष कमरुद्दिन राईको अध्यक्षतामा भएको बैठकमा पूर्वमन्त्री एवं क्षेत्र नं. २ का सांसद मो. इस्तियाक राई, केन्द्रीय सदस्यहरुमा अजय श्रीवास्तव, हिक्मत विक, बाबु खाँ पठान र राजकुमार यादव तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहको उपस्थिति रहेको थियो ।

केन्द्रको निर्णयमा माओवादी केन्द्रले पनि आपत्ति जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !