पालिकाको राम्रो काम : विपन्नलाई घर

नेपालगञ्ज – अर्काको काम गर्दा र दुई छाक जुटाउन भौतारिदा भौतारिदै ढावा लामाको ६२ वर्ष वित्यो । चरम गरिवी भएपनि घामपानी छेक्ने आफ्नै सानो घर होस् भन्ने लामाको ठूलो चाहना थियो । मजदुरी गरेको पैसा खाना र लगाउनमै ठिक्क थियो । घर बनाउने लामाको सपना टाढा हुँदै गइरहेको थियो ।

आफ्नै घरमा बस्ने लामाको चाहनालाई खजुरा गाउँपालिकाले पूरा गरिदिएको छ । गाउँपालिकाले विपन्न वर्गलाई घर बनाएर दिंदा लामा पनि परेका छन् । लामा भन्नुहुन्छ, ‘मलाई पनि घर प¥यो भनेको सुन्दा त शुरुमा मलाई सपनाजस्तै लागेको थियो । तर हो रहेछ, घर पाइएको छ ।’

साइवा अन्सारी पढ्न पाइनन् । उनलाई सधैं गरिवीले थिच्यो । आफ्नै घरमा बसेर ढुक्कसँग मिठो मसिनो खाने सपना थियो । अन्सारीको चाहनालाई पनि गाउँपालिकाले पूरा गरिदिएको छ । १२ नम्बरको घरमा अन्सारी परिवार मजाले बसेका छन् ।

रहिस हल्वाईलाई सधैं घरको चिन्ता थियो । अर्काको घरमा बसेर रहिसले मजदुरी गरेर पाँच जनाको परिवार पाल्दै आएका थिए । प्रेम चौधरीको अवस्था पनि रहिसको जस्तै थियो ।

ढावा, साइवा, रहिस र प्रेमजस्ता १६ परिवार यतिबेला खुशीले गद्गद् छन् । गाउँपालिकाले दुई कोठा, एक भान्छा र एउटा बरण्डा भएको चिटिक्कको घर बनाएर दिएपछि यी विपन्न परिवारमा खुशीयाली छाएको हो ।

रहिस भन्नुुहुन्छ, ‘घर पाइएला भन्ने सोचेका पनि थिएनौ । पक्की घरमा बस्न पाइयो । दिनभरी मजदुरी गरेपनि साँझ आफ्नै घरमा सुत्न पाइने भयो ।’

तराई समृद्धि कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकाले वडा नं. ३ मा विपन्नका लागि सामुहिक आवास बनाइदिएको हो ।

गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले एक करोड ७६ लाखको लागतमा सामुहिक आवासमा २१ वटा घर बनेको बताउनुभयो । ‘घर नभएका विपन्नलाई बसोबासको व्यवस्था मिलाएका छौं, अध्यक्ष कक्षपतिले भन्नुभयो, विपन्न परिवारको सुरक्षा र जीविकोपार्जनका लागि स्थानीय सरकार सारथी बनेको छ ।’

एक विगाह जमिनमा २१ वटा घर बन्दैछन् । १६ घरपरिवार घरमा बस्न शुरु गरेका छन् । पाँच वटा घर बन्दैछ । पाँच वटा घरको काम अन्तिम अवस्थामा पुगेको छ । यी घरमा पनि पालिकाका अति विपन्न वर्गलाई राखिन्छ ।

गाउँपालिकाले पालिकाभित्र रहेका घरविहीन विपन्नको निवेदन माग गरेको थियो । त्यही निवेदनका आधारमा घरबास नभएका व्यक्तिलाई सामुहिक आवासमा राखिएको छ ।

सामुहिक आवासमा बस्ने व्यक्तिले आफ्नो घरबास भएपछि त्यहाँ छोड्नु पर्छ । आफ्नो घरबास नहुँदासम्म उसले चाहेको जतिबेला बस्न पाउँछ । गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले पालिकाले बनाइदिएको घर बस्ने व्यक्तिको नाममा नहुने जानकारी दिनुभयो । ‘घरबास उनीहरुको नाममा हुँदैन । तर, उनीहरु आफ्नो घरबास नबनाउदासम्म बस्न पाउँछन्, योजना अधिकृत पौडेलले भन्नुभयो, सामुहिक आवासमा बसेका व्यक्तिलाई पालिकाले रोजगारीको अवसर पनि दिन्छ ।’

सामुहिक आवासमा पानी, विजुली, शौचालयको सुविधा रहेको छ । करेसाबारीको पनि व्यवस्था गरिएको छ । सामुहिक आवासमा जानका लागि राम्रो बाटो बनाइएको छ । करेसाबारीमा आफूलाई चाहिने तरकारी उत्पादन गर्न सक्छन् । दिनभरी रोजगारीका लागि जहाँ गएपनि साँझ आएर आफ्नै घरमा बस्ने सुविधा मिलेको छ । विपन्नले अर्काको घरमा बसेर भाडा तिर्ने समस्याबाट मुक्ति पाएका छन् ।

खजुरा गाउँपालिकाले अघिल्लो वर्ष सुकुम्बासीलाई २० वटा घर बनाइदिएको थियो । पालिकाले ८८ लाखमा गोहदनामा घर बनाएर सुकुम्बासीलाई दिएको थियो । यसपाली सुकुम्बासीलाई नभई घर नै नभएका व्यक्तिका लागि सामुहिक आवास बनाएको छ । गाउँपालिकामा रहेका घरविहीन मानिसलाई सामुहिक आवासमा राख्ने र उसले सकेसम्म पालिकाभित्र र नभए अन्यत्र मजदुरी गरेपनि साँझमा सुरक्षित तरिकाले बस्न पाउने व्यवस्था मिलाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !