पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने विदेशीको षड्यन्त्र सफल हुन्छ – ओली
नेपालगञ्ज — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुने बताउनु भएको छ ।
नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवाद भनेपनि यिनै पाँच दलीय गठबन्धन हुन् । यिनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुन्छन् । देश फेरि पछाडी पर्छ ।’
अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, एमाले सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको छ । लगानी गर्ने पूँजी छैन । उद्योगी व्यवसायीलाई ऋण दिने पैसा छैन । लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न सक्दैन । देशलाई झन गरीव हुनबाट बचाउन सकिदैन । देशको लोकतन्त्र र विकास निर्माणको काम ध्वस्त हुनेछ । यी सबै समस्याबाट पार लगाउन आगामी चुनावमा एमालेलाई जिताउनु पर्छ ।’ अध्यक्ष ओलीले यो सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका गर्नुभयो ।
नेकपा समाजवादी एकीकृतका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताउनुभयो । ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक एक लाख दिने घोषणा गर्नुभयो ।
अध्यक्ष ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत ठूलो संख्यालाई एमालेमा प्रवेश गराउनुभयो ।