सूर्यबाट चुनाव लड्न सक्छौं : कमल थापा
नेपालगञ्ज – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग तालमेल भएमा सूर्य चुनाव चिन्हबाट चुनाव लड्ने बताउनु भएको छ ।
पार्टीले नेपालगञ्जमा आयोजना गरेको बृहत कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमालेसँग चुनावी तालमेलका लागि कुराकानी भइरहेकाले सहमति भएमा सूर्यबाट चुनाव लड्ने बताउनुभयो ।
अध्यक्ष थापाले आफूहरुले एमालेसँग ठूलो भाग नखोजेको बताउनुभयो । ‘हामीले धेरै ठूलो माग गरेका छैनौ । बाँकेको कुरा गर्ने हो भने नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयर र केही वडाअध्यक्ष, कोहलपुर नगरपालिकामा पनि उपमेयर, केही वडाध्यक्षमा हाम्रो रुची रहेको छ, अध्यक्ष थापाले भन्नुभयो, गाउँपालिकामा केही वडाध्यक्ष र सदस्य आशा गरेका छौं ।’
थापाले राजसंस्था बोकेर हिड्दा हिन्दु राष्ट्र स्थापनाको मुद्दा नै कमजोर हुन थालेकाले राजसंस्थालाई छोडेको बताउनुभयो । ‘सबै दलको स्वीकार्य हुने गरी राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेको थिए । राजाले भने राजसंस्था पुनस्र्थापनाका लागि कुनै सक्रियता देखाएनन्, उल्टै राजाले पटक–पटक पार्टीमा हस्तक्षेप गरे, थापाले भन्नुभयो, राजाले पार्टीमा हस्तक्षेप गरिरहे । राजालाई बोकेर हिड्दा हिन्दु राष्ट्रको एजेन्डा कमजोर हुने भयो ।’ थापाले माओवादीलाई समेत स्वीकार्य हुने राजसंस्था स्थापना गर्ने विषयमा आफू निरन्तर लागेको स्मरण गर्नुभयो ।
राप्रपाका दुई वडाध्यक्ष राप्रपा नेपालमा
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा छन् । राप्रपाबाट डा. राणाले मेयर जित्दा नेपालगञ्जका २३ मध्ये तीन वटा वडामा राप्रपाले चुनाव जितेको थियो ।
त्यही तीन जनामध्ये दुई जना वडाध्यक्ष बिहीबार राप्रपा नेपालमा प्रवेश गरेका छन् । राप्रपाले जितेको वडा नं. ४ का अध्यक्ष सफिक बेहना डा. राणासँगै छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का कैफुलबरा जोलाह र वडा नं. ८ का सुरेन्द्र गुप्ता राप्रपा नेपालमा प्रवेश गरेका हुन् । दुवै वडाध्यक्षलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराउनुभयो । अध्यक्ष थापाले केही युवाहरुलाई पार्टी प्रवेश गराउनु भएको छ ।