समाजमा उच्च नैतिकता र अनुशासन देखाउन भुपु सैनिकलाई प्रधानसेनापतिको आग्रह

नेपालगञ्ज – प्रधान सेनापति प्रभुराम शर्माले भुपु सैनिकलाई समाजमा उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गर्नु भएको छ ।

नेपालगञ्जमा आयोजित नेपाली सेना भुपु सैनिक सम्मेलनमा बोल्दै प्रधान सेनापति शर्माले भन्नुभयो, ‘तपाईहरु इच्छाएको राजनीतिक दलमा लाग्नुस् । तर, सेनामा हुँदा सिकेको सैनिक अनुशासनलाई पालना गर्दै उच्च नैतिकवान, राम्रो र अनुशासित चरित्र प्रदर्शन गर्नुस् ।’

प्रधान सेनापति शर्माले समाजलाई सहयोग गरेर केही न केही योगदान दिन आग्रह गर्दै समाज राम्रो हुँदा राष्ट्र राम्रो हुने बताउनुभयो । उहाँले राष्ट्रियहितको रक्षा गर्न सेना सधै गम्भीर रहेको बताउँदै राष्ट्रलाई आपत पर्दा भुपु सेनाले गरेको सहयोगको उच्च प्रशंसा गर्नुभयो ।

प्रधान सेनापति शर्माले स्रोत साधनले भ्याएसम्म भुपु सैनिकको जीवनस्तर उकास्न सेनाले विभिन्न योजनाहरु बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउदै लगेको बताउनुभयो ।

उहाँले सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानकारी दिदै त्यसको छिट्टै कार्यानवयन हुने बताउनुभयो । नेपाली सेनाले लमजुङमा नेपाली सेना कृषि कलेज स्थापना गरिसकेको छ ।

प्रधान सेनापति शर्माले शिक्षा, स्वास्थ्य, शिप तथा स्वरोजगार र सेवा सहुलियत यी चार खम्बालाई आधार बनाएर सैनिक कल्याणकारी कोषको लगानी बढाएको बताउनुभयो । सैनिक कल्याणकारी कोषमा अहिले ६४ अर्ब भन्दा बढी रकम मौज्जाद छ । २०३४ सालमा एक करोड २४ लाखबाट कोषको स्थापना गरिएको थियो । उक्त रकमको व्याजबाट सैनिक हितका कार्य सञ्चालन हुने र मूल धन नचलाइने शर्माले बताउनुभयो ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले सैनिक कल्याणकारी कोषको सेवा सुविधा विस्तार गर्दै स्वेदशमै रोजगारीको अवस्था सिर्जना गर्न लागि परेको बताउनुभयो ।

भुपु रथी नेपालभुषण चन्द, सहायक रथी डा. केशवबहादुर भण्डारी, गौरव तण्डुललगायतले कल्याणकारीको कार्यक्रमबारे जानकारी दिने र भुपुलाई परेको पीर मर्का बुझ्न यसप्रकारको सम्मेलन भइरहेको बताउनुभयो ।

सो अवसरमा सेनाले जेष्ठ र अशक्त नागरिकलाई सहयोग, उत्कृष्ट उद्यमीलाई पुरस्कृत र केहीलाई कर्जा प्रदान गरेको थियो । सम्मेलनमा मार्चपास, विभिन्न जातजाती भेषभुसाको नाच देखाइएको थियो । प्रधान सेनापति शर्माले भुपु सैनिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरुको गुनासो सुन्नु भएको थियो ।

सेनाले यो वर्ष यस्ता चार वटा कार्यक्रम गरेको छ । अर्को वर्ष मध्य र उपत्य हेडक्वाटर अन्तर्गत र तेस्रो वर्ष पूर्वी क्षेत्रमा सम्मेलन गर्ने तयारी गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !