१ सय ३७ जनाको ब्याज अनुदान फिर्ता

नेपालगञ्ज – युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ ।
बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गर्नुभएको हो ।

बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगञ्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्देश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपौयाँ ब्याज अनुदान वितरण गरिएको हो ।

युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट सहकारीमार्फत युवाहरुलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिशत स्वरोजगार कोषले फिर्ता गर्ने नीति अनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले गृह जिल्ला (बाँके) बाट ब्याज रकम फिर्ता अभियान सुरु गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलालाई स्वरोजगार बन्न आग्रह गर्नुभयो । युवा तथा साना ब्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करीव ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगसँगै स्वरोजगारको उपाय अवलम्वन गर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उद्यमीहरुले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाई युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न समेत अपिल गरेका थिए ।

युवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैक तथा बित्तिय संस्थाहरुसँगको सहकार्यमा ३६ करोड ५१ लाख बढि रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिनुभयो । कोषले बाँकेका ३ हजार ब्यक्तिलाई स्वरोजगार हुन मद्दत गरिरहेको अधिकारीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !