हरियाणा र न्यू डायमन्डको जित
नेपालगञ्ज – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको शुक्रबार भारतीय टिम हरियाणा स्पोर्टस क्लब र न्यू डायमन्ड एकेडेमीले जित हासिल गरेका छन् ।
नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले हरायो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाका पुर्व मानार्थ उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश चन्द, बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पुरस्कृत गरे ।
पहिले लगातार दुई सेट गुमाएको हरियाणाले तेस्रो सेटदेखि लय समात्न सफल भयो । रेलवे टिमका खेलाडी सम्मिलित हरियाणाले पुलिस विरुद्ध जित निकाल्न निकै मेहनत गरेको थियो । खेलपछि हरियाणाका प्रशिक्षक सुरेन्द्र सिंहले च्याम्पियनबन्ने उद्देश्यका साथ नेपालगञ्ज आएको बताए । सुरुमा तालमेल मिल्न गाह्रो भएपनि तेस्रो सेटदेखि खेलाडीहरु आफ्नो लयमा फर्कन सफल भएको उनले बताए । पुलिसका प्रशिक्षक रुपेश बिष्टले खेलाडीको प्रदर्शनमा आफु सन्तुष्ट रहेको बताए ।
दोस्रो खेलमा न्यू डायमन्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्टस कम्प्लेक्स (छत्तीसगढ) लाई ३–० सेटले पराजित गरेको छ । पुलिसले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यू डायमन्ड एकेडेमीकी रीमा कुवँर प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलाडी निरक गुरुङ, इसाका अध्यक्ष डिबी तामाङ र पत्रकार महासंघ उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे ।