नाटाको ४२ औं केन्द्रीय अधिवेशन नेपालगञ्जमा
नेपालगञ्ज – नेपाल क्षयरोग निवारण संस्थाको ४२ औं केन्द्रीय सभाको अधिवेशन शुक्रबार नेपालगञ्जमा शुरु हुँदैछ ।
संस्थाको बाँके शाखाको आतिथ्यमा हुने उक्त केन्द्रीय अधिवेशनको तयारी पूरा भइसकेको जानकारी नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय सदस्य तथा अधिवेशन आयोजक समितिका संयोजक सेमराज शाक्यले दिनु भयो ।
संयोजक शाक्यका अनुसार, लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुको प्रमुख आतिथ्यमा सम्पन्न हुने केन्द्रीय सभाको अधिवेशनमा सहभागी हुन नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष मदनकाजी श्रेष्ठ, उपाध्यक्षद्वय बेदप्रसाद कोजू र अरुणप्रताप राणा, महासचिव राजन श्रेष्ठ, उपमहासचिव राधादेवी श्रेष्ठलगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र ३५ जिल्लाका सहभागीहरु नेपालगञ्जमा आइपुगेका छन् ।
करीब १ सय २५ जनाको सहभागिता हुने उक्त केन्द्रीय सभाको अधिवेशनको तयारीका लागि अधिवेशन आयोजक मूल समितिका संयोजक सेमराज शाक्यको संयोजकत्वमा ४१ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने विभिन्न ११ वटा उपसमितिहरु गठन गरिएको छ ।
शाखा सभापति बदरुद्दीन अन्सारीका अनुसार, बाँके शाखाका पूर्व अध्यक्ष शान्ति श्रेष्ठको संयोजकत्वमा सल्लाहकार समिति, बाँके शाखाका पूर्व अध्यक्ष पूर्णलाल चुकेको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा आर्थिक समिति, सन्ध्या शर्माको संयोजकत्वमा प्रचार समिति, रचना श्रेष्ठको संयोजकत्वमा अतिथि स्वागत सत्कार समिति, जनकराम भण्डारीको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, बसन्त लामिछानेको संयोजकत्वमा आवास व्यवस्थापन समिति, सुन्दरलाल शाक्यको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रशान्त श्रेष्ठ र बिना श्रेष्ठको संयोजकत्वमा मनोरञ्जन समिति, डा. सुभाष योगीको संयोजकत्वमा स्वास्थ्य उपसमिति गठन गरिएको छ ।
त्यसैगरी सचिव नरेन्द्र श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष मदन काजी श्रेष्ठको केन्द्रीय पदाधिकारीहरुलाई शाखा कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरियो । सो अवसरमा केन्द्रीय सभाको अधिवेशन आयोजक मूल समितिका संयोजक सेमराज शाक्यले अधिवेशनको तयारीको बारेमा जानकारी दिनुभयो ।
सोही अवसरमा बाँके शाखाका पूर्व अध्यक्ष तथा भवन निर्माण समितिका संयोजक पूर्णलाल चुकेले भवन निर्माणबारे जानकारी दिंदै संस्थाको ऐतिहासिक पृष्ठभूमि माथि प्रकाश पार्दै स्थानीय स्तरको सहयोगमा डे केयर सेन्टर भवन र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा कम्पाउण्ड वाल निर्माण भइरहेको जानकारी दिनु भयो ।
सचिव नरेन्द्र श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा शाखा सभापति बदरुद्दीन अन्सारीले शाखाको गतिविधिहरुका बारेका प्रकाश पार्नु भएको थियो ।