सेना र बाँके–११ का बीचमा मैत्रीपूर्ण क्रिकेट
नेपालगञ्ज – नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर र बाँके–११ का बीचमा मैत्रीपूर्ण भेट्रान्स क्रिकेट खेलिएको छ ।
भैरवप्रसाद गणको आयोजनामा राँझामा खेलिएको मैत्रीपूर्ण खेलमा पश्चिम कमाण्डको नेतृत्व कमाण्ड सेनापति उपरथी प्रेम शाही र बाँके–११ को नेतृत्व नेपाल क्रिकेट संघ (क्यान) का लुम्बिनी र कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले गर्नु भएको थियो ।
टस जितेर पश्चिम कमाण्डले फिल्डिङ रोजेको थियो । कमाण्ड सेनापति उपरथी शाहीले गरेको पहिलो ओभरको पहिलो बलमै सहज क्याच छुटेको थियो । कप्तान दुर्गा थापा र हिमाल शाहले पारी सम्हालेपछि बाँके–११ ले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो ।
१५६ रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएका पश्चिम कमाण्डका ओपनर पहिलो ओभरमै मेराज अन्सारीको बलमा क्याचआउट भएका थिए । उपरथी शाही, पूर्व सहायक रथी राम राणा र प्रमुख सेनानी सन्जीव सिजापतिले राम्रो प्रदर्शन गरेपछि पश्चिम कमाण्डले १३५ रन बनाएको थियो ।
मैत्रीपूर्ण खेलमा पश्चिम कमाण्डबाट मेजर दीप श्रेष्ठ, अशोक शाही, प्रवीण थापा, लेफ्टीनेन्ट नेहाल चन्द र सन्दीप ढुंगानाले खेलेका थिए ।
बाँके–११ बाट जमिल अन्सारी, दिपेन्द्रप्रताप सिंह, शशिरञ्जन कर्ण, विनोद कर्ण, विक्रम श्रेष्ठ, इरफान खान, जावेद सिद्धिकी, जाकीर सिद्धिकीलगायत खेलेका थिए ।
खेलस्थलमा पूर्व सिंचाईमन्त्री दीपक गिरी, संविधान सभा सदस्य राजीवविक्रम शाह, श्री नं. ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार विष्ट, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाई, नेपाल पत्रकार महासंघ, बाँकेका उपाध्यक्ष करुणा शाह, व्यवसायी किसन गुरुङलगायतको उपस्थिति रहेको थियो ।
भैरवप्रसाद गणले नागरिक–सैनिक सम्बन्ध सुदृढ गर्न थप सहयोग पुग्ने यस्ता मैत्रीपूर्ण खेलहरु आयोजना गर्दै आएको
छ ।