हात्तीपाइले रोगविरुद्धको औषधी सेवन शुरु

नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन शुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार, शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन शुरु गरिएको छ ।
बाँकेमा यो १२ औं चरणको औषधी सेवन हो । यसपाली बाँकेमा तीन थरीको औषधी खुवाइएको छ । अल्बेन्डाजोल, डिइसीसँगै आइभरमेक्टिन नामक औषधी खुवाइएको छ । अहिले उचाईका आधारमा औषधी खुवाइएको छ ।
हात्तीपाइले औषधी सेवन शुरु गर्नु अघि बाँकेमा २०.८ प्रतिशत रोगी थिए । ११ वर्ष औषधी खुवाउदा जिल्लामा ५.५ प्रतिशत विरामी छन् । लगातार औषधी खुवाउदा पनि असफल भएपछि यसपाली औषधी थपिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख शाहले यसपाली स्वास्थ्यकर्मीको अगाडि नै औषधी खुवाइने बताउनु भयो । औषधी निलेपछि मात्रै रजिष्टरमा इन्ट्री गर्ने रणनीति अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि, जिल्ला प्रशासन कार्यालयबाट औषधी सेवन शुरु गरिएको छ ।
शनिबारदेखि १० जिल्लामा अभियान शुरु गरिएको छ । दश जिल्लामध्ये पाँच जिल्लामा तीन थरी र पाँच जिल्लामा दुई थरी नै औषधी खुवाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !