शनिबारदेखि खजुरामा रनिङ शिल्ड

नेपालगञ्ज – योगिनी मावि, गौघाटमा शनिबारदेखि तीन दिनसम्म खजुरा गाउँपालिका अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने चौथो संस्करणको रनिङ शिल्ड प्रतियोगितामा मावि तहका ४ सय १८ जना विद्यार्थीले भाग लिने आयोजकले जनाएको छ ।
शुक्रबार गौघाटमा पत्रकार सम्मेलन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष एवं मूल आयोजक समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले माध्यमिक तहका छात्र–छात्रातर्फका एथलेटिक्स, भलिबल, कपड्डी गरी १५ वटा इभेन्टसका ३० खेलहरु रहेको जानकारी दिनुभयो । यो संस्करणमा मावि तहका विद्यार्थीले मात्रै भाग लिने छन् । कोभिडका कारण छोटो समयमा तयारी गर्नुपर्ने भएकाले यसअघि हुँदै आएको प्राथमिक तह र निम्न माध्यमिक तहलाई समावेश गरिएको छैन ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, द्वितियलाई १५ हजार र तृतियलाई दश हजार रुपैया पुरस्कार राखिएको छ ।
प्रतियोगिता सञ्चालन गर्न ३० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । गाउँपालिकाले ६ लाख रुपैया सहयोग गरेको छ ।


प्रतियोगितालाई भब्य र सब्य बनाउनका लागि उद्घाटन समारोह, अतिथि सत्कार, जुरी अफ अपिल, मञ्च व्यवस्थापन, उद्घोषण, पुरस्कार व्यवस्थापन, स्वयंसेवक परिचालन, प्राविधिक तथा फिल्ड निर्माण, भोजन तथा आवास, प्रचार प्रसार र प्राथमिक तथा स्वास्थ्य सेवाका उपसमितिहरु गठन गरिएको छ ।
यसपटकको रनिङ शिल्डमा खजुरा क्षेत्रको हरित सिर्जना सामुदायिक वनमा पाइने निलगाईलाई प्रतिक चिन्ह (मस्कट) का रुपमा राखिएको छ ।
खजुरामा पहिलो संस्करण २०७५ सालमा जनसेवा मावि, दोस्रो संस्करण अमर मावि, तेस्रो संस्करण जनकल्याण माविमा गरिएको थियो ।
पालिकास्तरमा हुने प्रतियोगिताका विजेतासँगै राम्रो खेलाडीलाई समावेश गरेर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा खजुराको उपस्थिति बलियो बनाउने रणनीति बनाइएको छ ।
यसैबीच, गौघाट निवासी पत्रकार कमल खत्रीले गौघाटका खेलाडीलाई जर्सी सहयोग गर्नु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !