भैरवप्रसाद र चन्दननाथ गण फाइनलमा

नेपालगञ्ज – भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा र चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नेपालगञ्ज रंगशालामा बिहीबार भएको खेलमा भैरवप्रसाद गणले रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी र चन्दननाथ गणले रणबम गण, डडेल्धुरालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
पहिलो खेलमा संगम चौधरीको ह्याट्रिकसहित भैरवप्रसाद गणले रुद्रध्वजलाई ५–१ गोलले पराजित गरेको थियो । २२ मिनेटमा सन्तोष धामको गोलबाट रुद्रध्वजले अग्रता लिएको थियो । २८ मिनेटमा डीएरिया बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गर्दै संगम चौधरीले भैरवलाई बराबरीमा ल्याएका थिए । त्यसपछि गोल हुन सकेन ।
३० मिनेट थपिएको अतिरिक्त समयमा भैरवप्रसाद गण एकतर्फी हावी भएको थियो । भैरवप्रसादले ५÷५ मिनेटको अन्तरमा गोल गरेको थियो । १०५ र ११० मिनेटमा संगम चौधरी, ११५ मिनेटमा भुपेन्द्र राना र ११९ मिनेटमा ध्रुव भण्डारीले गोल गरेका थिए ।


दोस्रो खेलमा चन्दननाथले रणबम गणलाई २–१ गोलले पराजित गरेको छ । ४९ मिनेटमा चन्दननाथका विनोद नेपालीले पहिलो गोल गरेका थिए । ७६ मिनेटमा अरुण खवासले गोल गर्दै रणबमलाई खेलमा फर्काएका थिए । ९९ मिनेटमा ईश्वर चौधरीले गोल गरेपछि चन्दननाथ विजयी भएको थियो ।
फाइनलमा पुगेको भैरवप्रसाद गण र चन्दननाथ गण एउटै समूहमा थिए । लिग चरणमा भैरवले चन्दननाथलाई २–० गोलले पराजित गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !