‘दोहोरिन्न’ भन्ने जनप्रतिनिधि भेटिएनन्

नेपालगञ्ज – आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने तय भएको छ । निर्वाचनको मिति घोषणासँगै स्थानीय तहमा ‘उम्मेदवार’को कसरत शुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा २३ वटा वडा छन् । नेपालगञ्जमा ‘दोहोरिन्न’ भन्ने वडाध्यक्ष भेटिएका छैनन् । एक÷दुई जना दोधारमा छन् । अधिकांशले फेरि वडाध्यक्ष दोहोरिने इच्छा देखाएका छन् । दोहोरिनका लागि पार्टीमा लबिङ शुरु गरिसकेका छन् । ‘मैले पाँच वर्षमा धेरै राम्रो काम गरेको छु । पार्टीले टिकट दिनु प¥यो, जीत सुनिश्चित छ,’ सबैजसो वडाध्यक्षले भन्ने गरेका छन् ।
‘तपाई फेरि दोहोरिने हो कि माथिल्लो पदमा निर्वाचन लड्ने हो’ भन्दा अधिकांशले फेरि दोहोरिने प्रतिक्रिया दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले सबैजसो जनप्रतिनिधिले फेरि दोहोरिने इच्छा देखाएको बताउनुभयो ।
यो नेपालगञ्जको मात्रै होइन, जिल्लाका आठ वटा पालिकाका ८१ वटै वडाको समस्या हो भन्दा हुन्छ । एक पटक जनप्रतिनिधि भइसकेपछि अर्कोलाई ‘पालो’ दिनुपर्छ भन्ने त्याग कसैमा देखिदैन । ‘जसरी पनि आफै हुनुपर्छ’ भन्ने नेताहरुको सोचाई रहेको देखिन्छ ।
बाँकेमा एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छ । केही ठाउँमा उपाध्यक्षले अध्यक्षका लागि प्रयास गर्नुबाहेक माथिल्लो तहमा ठाउँ नपाउँदासम्म भएकै पदमा दोहोरिने नेताहरुको जिद्धीपना देखिन्छ । खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले सामाजिक सञ्जालमार्फत आफू अध्यक्षको दाबेदार रहेको सार्वजनिक गर्नुभयो । उहाँको स्टाटस लामो समयसम्म टिकेन, डिलिट भइहाल्यो ।
निर्वाचनको मिति घोषणापछि पार्टी र नेताहरु सल्बलाउन थालेका छन् । आ–आफ्नो इच्छा अनुसार तलदेखि माथिसम्मको लबिङ शुरु भइसकेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी फोरमबाट नाम बाहिर आउन थालिसकेको छ । नेपालगञ्जमा अहिले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा मेयर छन् । डा. राणाले संघमा चुनाव लड्ने इच्छा देखाउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका लागि डा. राणाको उत्तराधिकारी प्रष्ट भइसकेको छैन ।
राजनीतिक विश्लेषक प्राडा जनार्दन आचार्यले राजनीति सेवाभाव भन्दा पनि कमाउधन्दामा परिणत भएकाले कसैले पनि सजिलै पालो नदिने गरेको बताउनुभयो । ‘पहिला राजनीतिलाई सेवाभावको रुपमा लिइन्थ्यो । जनप्रतिनिधि दोहोरिन झ्याउलो मान्थे । अहिले राजनीति आकर्षक पेशा भएको छ । तलव सुविधा आउँछ, प्राडा आचार्यले भन्नुभयो, सजिलै ‘तर’ खान पाइने भएपछि कसले सहजै छोड्दो हो र ?’
एउटा वडामा करोड बढीको बजेट जाने गर्दछ । प्रदेश र संघमा पहुँच बढाउन सक्ने वडाध्यक्षले त्यहाँबाट पनि ठूल्ठूला योजना पार्न सक्छ । जति ठूलो योजना प¥यो, त्यति नै ठूलो रकम खेलाउन पाउँछ । स्थानीय तहको ‘जनप्रतिनिधि’ नै आकर्षित पद हुँदा जुनसुकै पार्टीमा मरिहत्ते गर्नेको लाइन नै देखिन्छ । यहाँका पार्टी कार्यालयहरुमा त्यस्ता आकांक्षीहरुको भीड देखिन थालिसकेको छ । कसलाई समातेपछि आफ्नो उम्मेदवारी पक्का हुन्छ भन्नेमा आकांक्षीहरु लागिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !