तीब्रगतिमा गुड्ने सवारी साधनलाई ठाउँको ठाउँ कारबाही

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री सवार सरकारी गाडीलाई बाँके राष्ट्रिय निकुञ्जमा खटिएका सुरक्षाकर्मीले २० मिनेट रोके । हतारमा रहेकी उपाध्यक्ष खत्रीले गाडी छोड्न आग्रह गर्नुभयो । सुरक्षाकर्मीले छोडेनन् ।
उपाध्यक्ष सवार गाडीलाई निकुञ्ज क्षेत्रभित्र तीब्रगतिमा चलाएका कारण कारबाही स्वरुप रोकिएको थियो । गत १४ गते १ बजेको घटना थियो, यो । उपाध्यक्ष खत्रीले निकुञ्जका प्रमुख, निकुञ्जमा खटिएको नेपाली सेनाका अधिकारीलाई फोन गर्नुभयो । कतैबाट सुनुवाई भएन ।
सबैका लागि बनाएको नियम कसैको आदेशमा तोडिनेवाला थिएन । तोकिएको समय भन्दा अघि पुगेकाले उपाध्यक्ष खत्री सवार गाडीलाई रोकिएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा भेएकल ट्राकिङ एण्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस) जडान गरेपछि तीब्रगतिमा गुड्ने सवारी साधन धमाधम कारबाही परेका हुन् । बाँके राष्ट्रिय निकुञ्ज पूर्वपश्चिम राजमार्गको ७२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज समेटिएको खण्डमा तीब्रगतिमा गुड्ने सवारी साधनले संरक्षित जनावरलाई ठक्कर दिने भएकाले भीटीआरएस प्रविधि जडान गरिएको छ ।
निकुञ्जले पश्चिममा प्रगतिनगर र पूर्वमा शिवखोलामा क्यामेरा राखेको छ । पश्चिमबाट जाने गाडीलाई प्रगतिनगरमा रहेको क्यामेराले क्याप्चर गर्छ । शिवखोलामा खटिएको सुरक्षाकर्मीकहाँ म्यासेज जान्छ । निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्ने नियम बनाइएको छ । राजमार्ग भएको र टाढा जानु पर्ने भएकाले प्रति घण्टा ६० किलोमिटरको गतिसम्मलाई व्यवहारिक रुपमा हेर्ने गरिएको छ । प्रतिघण्टा ६० किलोमिटर भन्दा तीब्रगतिमा गुडेका सवारी साधनलाई ठाउँको ठाउँ कारबाही हुने गरेको छ । प्रगतिनगरबाट प्रवेश गरेका गाडीलाई शिवखोला र शिवखोलाबाट प्रवेश गरेका गाडीलाई प्रगतिनगरमा रोकेर कारबाही गर्ने गरिएको छ ।


भीटीआरएस प्रविधि जडान गरेपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले गाडी नम्बर टिप्नु पर्ने झन्झटबाट मुक्ति पाएको छ । गाडी इन्ट्री गर्दा हुने भीडको समस्या हटेको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले भीटीआरएस प्रविधि जडान गरेको एक महिना नपुग्दै धेरै सवारी साधन कारबाहीमा परेको बताउनुभयो । पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ निकुञ्ज पर्छ । दक्षिणतिर सामुदायिक वन जंगल छन् । उत्तरको निकुञ्जमा रहेका जनावर दक्षिणी जंगलमा जान्छन् । दक्षिणबाट उत्तरतिर जान्छन् । त्यसक्रममा राजमार्गमा गाडीले ठक्कर दिने गर्दछ । बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौकालगायत संरक्षित जनावर छन् । यी जनावरसमेत दुर्घटनामा पर्ने भएकाले सवारी साधनको गतिलाई ‘कन्ट्रोल’ गरिएको छ । वार्डेन शाहले वन्यजन्तुलाई बचाउन भीटीआरएस प्रविधि जडान गरेको बताउनुभयो ।
भीटीआरएस नयाँ प्रविधि हो । सबै निकुञ्जमा यो लागु गरिएको छैन । बाँके राष्ट्रि निकुञ्ज पहिलोमध्येमा पर्छ । यो प्रविधिले सुरक्षा खटिएको नेपाली सेना, सवारी साधन चालक दुवैलाई फाइदा पु¥याएको छ । निकुञ्ज क्षेत्रमा कही पनि गाडी रोक्नु पर्दैन । आफ्नै गतिमा गुड्छ । क्यामेराले आफै काम गर्छ । पूर्व र पश्चिमको दुई वटा प्रवेशद्वारमा रहेको क्यामेराले गाडी नम्बर क्याप्चर गर्ने र त्यसलाई अर्को पोष्टमा हेर्न सकिन्छ । तोकिएको भन्दा तीब्रगतिमा गाडी गुडेको छ भने त्यसलाई कारबाही गरिन्छ । यो कारबाही केही भीभीआइपी पनि परेको स्रोतले बताएको छ ।


error: यो सुविधा उपलब्ध छैन !