बाघ गणना गर्न राखिएका २३ वटा क्यामेरा चोरी र तोडफोड

नेपालगञ्ज – बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा धमाधम चोरी भएका छन् । बर्दिया–बाँके कम्प्लेक्सको तीन वटा ब्लकमा २३ वटा क्यामेरा चोरी÷तोडफोड भएको हो ।
बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । एक र दुई नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तीन नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चार नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा. रविन कडरियाले अहिलेसम्म एक र दुई नम्बर ब्लकको काम सकिएको जानकारी दिनुभयो । तीन नम्बर ब्लकमा काम भइरहेको छ । त्यसपछि चार नम्बर ब्लकमा काम हुनेछ । एक नम्बर ब्लकमा नौ वटा, दुई र तीन नम्बर ब्लकमा चार÷चार वटा क्यामेरा चोरी भएको छ । ६ वटा क्यामेरा हात्तीले तोडफोड गरिदिएको छ । एउटा क्यामेराको मूल्य ४० हजार रुपैया रहेको छ । घाँस काट्न गएका, चोरी शिकारीले क्यामेरा चोरी गर्ने गरेका छन् ।
सन् २०१८ को रिपोर्ट अनुसार, बर्दियामा ८७ र बाँकेमा २१ वटा बाघ रहेका छन् । एक, दुई नम्बर ब्लकको काम सकिदा र तीन नम्बर ब्लकको काम भइरहदा बाँके र बर्दियामा बाघको संख्या बढेको आकलन गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको मुभमेन्टलाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्ने अनुमान गरेको बताउनुभयो ।
पछिल्लो दिनमा बाघको संख्या बढ्दा बाघ र मानव द्वन्द्व बढेको छ । सन् २०१९ यता बाँकेमा ६ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । यो अवधिमा बाँकेदेखि शुक्लाफाटासम्ममा २८ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख डा. कडरियाले सबै आक्रमण जंगलभित्रै र दिउँसो भएको बताउनुभयो । सन् २०१८ पछि दाङदेखि शुक्लाफाटासम्ममा ८ वटा बाघ मारिएका छन् । बाँकेमा तीन, बर्दियामा २, कैलालीमा एक, शुक्लाफाटामा २ वटा बाघ मारिएको छ ।
नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने प्रतिबद्धता गरेको छ । सन् २०१८ को रिपोर्ट अनुसार, नेपालमा २ सय ३५ वटा बाघ रहेका छन् ।
तेस्रो ब्लकको काम सकिनै थालेको छ । चौथो ब्लक पुरै बाँकेमा पर्दछ । चौथो ब्लकमा गणना गर्दा क्यामेराको सुरक्षादेखि बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रलाई तार्गेट गर्ने तयारी गरिएको छ । बाँकेमा निकुञ्जभित्र भन्दा पनि सामुदायिक वनमा आएर बाघले आक्रमण गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका वार्डेन शाहले बाघले आक्रमण गरेका सामुदायिक वन क्षेत्रमा पनि क्यामेरा राखेर बाघको गणना गर्ने बताउनुभयो । निकुञ्जभित्र भन्दा सामुदायिक वन क्षेत्रमा अझै क्यामेरा हराउने जोखिम बढ्ने गर्दछ । चौथो ब्लक एक सय ७५ ग्रिडमा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !