पाडा खान आएन बाघ, प्राविधिक टोली पछ्याउँदै

नेपालगञ्ज – पुसको २२ गते लिला विष्ट र २४ गते चाँदनी थारुको बाघको आक्रमणबाट मृत्यु भयो । दुवै महिला घाँस–दाउरा गर्न सामुदायिक वनमा पुग्दा बाघले आक्रमण गरेको थियो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ४ की विष्ट र वडा नं. ६ की थारुको बाघको आक्रमणबाट मृत्यु भएपछि निकुञ्ज, जंगल आसपासमा त्रास बढ्यो । पछिल्लो तीन महिनामा यी दुईसहित चार जनाको मृत्यु भएपछि हिंस्रक बाघलाई नियन्त्रण गर्न चर्को दबाब प¥यो ।
हिंस्रक बाघ नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति कोषबाट प्राविधिक टोली नै आयो । चितवनबाट आएका डा. अमिर सडौला र प्राविधिक तीर्थ लामा ६ दिनदेखि बाँकेमा खटिएका छन् । प्राविधिक टोलीले बाँके आउने वित्तिकै विष्ट र थारुलाई आक्रमण गरेको ठाउँको अवलोकन गरे । दुवै ठाउँमा हेर्दा बाघको ताजा पाइला थारुलाई आक्रमण गरेको ठाउँमा देखियो । त्यसपछि उनीहरुले बाघलाई लोभ्याउन पाइला देखिएको ठाउँमा दुई वटा पाडा बाँधेर राखेका छन् । करिव पाँच सय मिटरको दुरीमा दुई वटा पाडालाई बाँधेर राखेको छैठौ दिन भयो । बाघ पाडा खान आएको छैन । पाडा खान आएमा बाघलाई बन्दुकले हानेर बेहोस् बनाई नियन्त्रणमा लिने प्राविधिक टोलीको योजना रहेको छ ।


बाघलाई पाडा राखेर लोभ्याइएको छ । बाघ नजिक आएको छैन । प्राविधिक टोली दिनको एकपटक पाडा बाँधेको ठाउँमा जादै हेर्ने गरेको छ । प्राविधिक टोलीलाई त्यहाँ जानका लागि दुई वटा हात्ती परिचालन गरिएको छ । रातभरी नै जंगलमा पाडा बाँधेर बाघलाई लोभ्याएका प्राविधिकहरु विहान पाडा छ कि छैन भनेर हेर्न जान्छन् । प्राविधिक लामाले पाडा खान आएमा बाघलाई नियन्त्रणमा लिने बताउनुभयो । लामा भन्नुहुन्छ, बाघ आयो भने पाडालाई आक्रमण गर्छ । घिसारेर नजिकको झाडीमा लैजान्छ । हामीले त्यहीबेलामा बन्दुकले हानेर बेहोस् बनाउँछौं र नियन्त्रणमा लिन्छौं ।’
बाँके राष्ट्रिय निकुञ्ज र वन आसपासमा बाघको त्रास बढेको छ । बाँकेमा घरघरमै आएर बाघले मान्छे र पशुलाई आक्रमण गरेको छैन । निकुञ्ज आसपासको सामुदायिक वनमा घाँस–दाउरा गर्न गएका मानिसलाई आक्रमण गरेको छ । बाघले लगातार आक्रमण गरिरहेपछि हिंस्रक बाघलाई नियन्त्रणमा लिनु ठूलो दबाब परेको छ । डा. सडौलाले हिंस्रक बाघलाई नियन्त्रणमा लिएरै छाड्ने बताउनुभयो । ‘हामी दिनरात लागि परेका छौं । त्यो हिंस्रक बाघलाई नियन्त्रणमा लिएरै छाड्छौं, डा. सडौलाले भन्नुभयो, ताजा पाइला देखिएको ठाउँमा समेत फेरि बाघ आएको छैन । आउँछ भन्ने हामीलाई विश्वास छ ।’


बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन् । बाघ बढेको सम्बद्धहरु बताउँछन् । अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ । बाघले पटक–पटक आक्रमण गरिरहेपछि निकुञ्जमा पर्ने सडक र जंगलमा साइकल, मोटरसाइकलमा सवार गर्न छोडिएको छ । जंगल छेउछाउका बासिन्दा रातीमा घरबाहिर निस्किन डराइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !