चिसो प्रभावित विपन्नलाई कम्बल वितरण
नेपालगञ्ज – जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले चिसो प्रभावित विपन्नलाई कम्बल वितरण गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रशासकीय अधिकृत रामकुमार सोनकर, बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपाने, विपद व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बागेश्वरी मन्दिर परिसरमा रहेका चिसो प्रभावितलाई कम्बल वितरण गरेका हुन् ।
शीतलहर आकस्मिक योजना २०७८ अन्तर्गत समितिले ६ सय थान कम्बल खरिद गरेर चिसो प्रभावितलाई वितरण गरिरहेको छ । चिसोबाट बाँकेमा २६ हजार प्रभावित हुने आकलन गरिएको छ । समितिले थुनुवालाई कम्बल वितरण गरिसकेको छ ।
टोलीले शनिबार राती बजारका विभिन्न ठाउँमा निरीक्षण गरेको छ । बाहिर सुतेका मजदुर, गरीव, विपन्नलाई कम्बल दिने योजना रहेको छ । चिसोले प्रभावित भएकाहरुलाई न्यानो बनाउन कम्बल वितरण गरेको निमित्त प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।