जोखिमपूर्ण यात्रामा सुर्खेत अगाडि
नेपालगञ्ज – मानव बेचबिखन तथा ओसारपसारका लागि हुने जोखिमपूर्ण यात्रामा सुर्खेत जिल्ला अगाडि देखिएको छ ।
माइती नेपाल, नेपालगञ्जले नेपालगञ्ज नाकाबाट फिर्ता गरेको र खोजतलासका लागि परेको निवेदनलाई आधार मान्दा सन् २०२१ मा जोखिमपूर्ण यात्रामा सुर्खेत अगाडि देखिएको हो । विगतका वर्षहरुमा बाँके, बर्दिया र दाङ जिल्ला अगाडि रहदै आएकोमा यो वर्ष सुर्खेत अगाडि आएको छ ।
माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, जोखिमपूर्ण यात्रामा निस्केका ४ सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट घर फिर्ता पठाइएको छ । नेपालगञ्ज नाकाबाट घर फिर्ता हुनेमा सुर्खेतका ६५ जना छन् । दाङका ६१, बाँकेका ५६, बर्दियाका ४६, दैलेखका ३२ र सल्यानका २३ जना रहेका छन् । माइती नेपालले प्रहरीसँग मिलेर नेपालगञ्ज नाकामा शंकास्पद यात्रामा निस्केका महिला तथा बालबालिकालाई घर फिर्ता गर्ने गर्दछ । नेपालगञ्ज नाकाबाट घर फर्किने दैलेख र सल्यानका पनि बढेका छन् ।
जोखिमपूर्ण यात्रामा गइसकेकाहरुका आफन्तीले खोजतलासका लागि निवेदन दिने गर्दछन् । आफन्तीको खोजतलासका लागि यो ५ सय २५ जनाले निवेदन दिएका छन् । त्यसमा दुई सय ३ जना फेला परेका छन् । अरु कहाँ गए थाहा हुन सकेको छैन ।
खोजतलासको निवेदनमा पनि सुर्खेत नै अगाडि देखिन्छ । सुर्खेतबाट ८७ जनाले खोजतलासका लागि निवेदन दिएका छन् । त्यस्तै, बाँकेबाट ८७, दाङबाट ८४, बर्दियाबाट ६७, दैलेखबाट ४७ र सल्यानबाट २८ जनाको खोजतलासको निवेदन परेको छ ।
नेपालगञ्ज नाका हुँदै भारततर्फ लागेका महिला तथा बालबालिकाका आफन्तले केही वर्षसम्म आफन्तीहरु सम्पर्कमा नआएपछि वा जोखिमपूर्ण काममा परेपछि खोजतलास र उद्धारका लागि निवेदन दिने गर्दछन् । ५ सय २५ जनामध्ये फेला परेका दुई सय तीन जनाको भारतबाट उद्धार गरिएको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाले जानकारी दिनुभयो । ‘अरुको हामीले खोजतलास गरिरहेका छौं । फेला परेको छैन, कोइरालाले भन्नुभयो ।
भारत तथा तेस्रो मुलुकबाट उद्धार गर्न धेरै गाह्रो छ । राज्यस्तरमा उद्धारको संयन्त्र छैन । संघ संस्थाले उताका संघ संस्थासँग मिलेर उद्धार गरिरहेका छन् ।
विगतमा नाकाबाट उद्धार गर्ने बढी र खोजतलासको निवेदन कम पर्ने गरेकोमा यो वर्ष त्यसको विपरित भएको छ । कोभिडका कारणले गर्दा यस्तो भएको कोइरालाको भनाई छ । माइती नेपालमा महिला तथा बालबालिका सम्पर्कविहीन भएको भन्दै खोजतलासको निवेदन पर्ने गरेकोमा यो वर्ष तीन जना पुरुष भारतमा बन्धक भएकाले उद्धारका लागि निवेदन परेको छ ।
यो वर्ष खोजतलासको निवेदनमा धेरैजसो सामाजिक सञ्जालको प्रयोगबाट जोडिएको पाइएको छ । पछिल्लो पटक दलालको कार्य क्षेत्र पहाडी जिल्लातिर सरेको तथ्यांकले देखाएको छ । राम्रो काम र दाम पाइने भन्दै कोहीमार्फत भेटेर वा सामाजिक सञ्जालबाट जोडिएर युवतीलाई जोखिमपूर्ण यात्रामा लैजाने गरेको घटनाहरुले देखाएको छ । जोखिमपूर्ण यात्रामा गरिव, अशिक्षितमात्रै शिक्षित परिवारका युवती पनि फसेका छन् । शिक्षिक परिवारका युवतीहरु विवाह वा घुम्न जाने नाममा जोखिमपूर्ण यात्रामा निस्किने गरेका छन् ।
जोखिमपूर्ण यात्रामा निस्किने महिला तथा बालबालिकालाई रोक्नका लागि नेपालगञ्ज नाकामा आधा दर्जन बढी संघ संस्था क्रियाशील रहेका छन् । त्यसका बाबजुद महिला तथा बालबालिका भारत तथा तेस्रो मुलुक पुगिरहेका छन् ।