‘ब्याक गियर’ मा शशांकको ‘सेफ जोन’
बसन्त शर्मा
डा. शशांक कोइराला बेलाबखत सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ गइरहन्छन्। १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्ने सेरोफेरोमा फेरि बूढानीलकण्ठ पुगेको अपुष्ट खबरले बजार गर्मिलो थियो।
तेह्रौं महाधिवेशनमा राष्ट्रिय सभागृहमा मतदान सुरु हुँदै गर्दा डा. कोइराला र शेरबहादुर देउवा सँगै उभिएको तस्बिर सञ्चार माध्यम र सामाजिक सञ्जालमा खुबै छाएको थियो। त्यो तस्बिर मैले नै खिचेको थिएँ। खुबै चर्चा बटुल्यो त्यसले। नतिजा पनि त्यस्तै आएको थियो। यतिबेला खुल्ला केन्द्रीय सदस्य जितेका कोइराला पदाधिकारिको रेसमा जान चाहेनन्। तेर्हौं महाधिवेशनबाट निर्वाचित महामन्त्री भएका हिसाबले धेरैलाई आशा थियो, यसपटक उनी सभापतिमा पक्कै उम्मेदवार बन्नेछन्।
तर त्यसो हुन सकेन। कारण अनेक होलान्। सबैलाई नभए पनि कतिपयलाई डा. कोइराला, सभापति त्यो पनि यसै पटक भईदिए हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक पनि होइन। तर बिपी कोइरालाका छोरा हुँदैमा नेतृत्वमा पुग्नै पर्छ भन्ने चाहनामा ‘ब्रेक’ लाग्यो। ब्रेकमात्रै होइन संगठनको मुखिया बन्ने सिटमा पुग्नुको साटो उनले राजनीतिक यात्रामा ‘ब्याक गियर’ लगाउनु पर्यो। गाडीले उकालो पार गर्न नसक्ने अवस्थामा चालकले सुझबुझपूर्ण निर्णय लिँदै ब्याक गियर लगाउनु सुरक्षित हुने उपाय रोज्नु हो।
चालकको त्यो निर्णय सम्भावित दुर्घटनाबाट यात्रुलाई जोगाउने बुद्धिमतापूर्ण कदम हुन्छ। त्यसैगरी डा. कोइरालाले ‘ब्याक गियरसहित ‘ब्रेक’ लगाए। त्यसका थुप्रै कारण होलान्। ‘लोड’ धेरै भएर उकालो चढ्न नसक्दा ‘लोड’ झारेर फेरि यात्रा अघि बढ्न सक्ने गुन्जायस रहन्छ। सायद डा. कोइरालालाई महामन्त्रीकै भारी बोझिलो थियो कि ?
तर प्रश्न के हो भने के उनका पक्षका देशभरिका कार्यकर्ताहरु उनीसँगै जोगिए त ? मानौं नमानौं कांग्रेसको तल्लो तहदेखि नै कार्यकर्ता नेताका नाममा विभक्त छन्, थिए। सायद रहि पनि रहनेछन्। केवल नेताका नाम फेरिने छन्। तर त्यसो नभइरहोस्। लोकप्रिय मत, क्रिम अनुहार, चर्चाका पात्र महाधिवेशनको सुखद पक्ष रह्यो। नीति, कार्यक्रम र विधानबारे यो पटक बहस भएन।
यो पटक डा. कोइराला शुरुवातमै न त रामचन्द्र पौडेललाई समर्थन गर्नेमा परे न त प्रकाशमान सिंहलाई। न उनले विमलेन्द्र निधिलाई साथ दिए, न डा. शेखर कोइरालाका लागि माहोल नै बनाए। अन्ततः उनी सभापति शेरबहादुर देउवामा नै समाहित भए भन्दा अत्युक्ति नमानौं। भन्नलाई रामचन्द्रको नाममा छाडेँ भनिदिए। सबै समूहको भोट पाउने अपेक्षामा उम्मेदवारी दिन पनि कोही पक्षसँगै गएनन्। वारेस नामबाट उम्मेदवारी दर्ता गराए। त्यो पनि केन्द्रीय सदस्यको मात्रै ।
उसो त अघिल्लो कार्य समितिमा महामन्त्री रहेका कोइरालाको भूमिका पुरै कार्यकालभरि सभापति देउवाकै वरपर रह्यो। जस्तो कि ‘म्याग्नेटिक फिल्ड ईन्टेनसिटि’मा परेको फलाम झैं। जब वैधानिक कार्यकाल सकियो,जब पार्टी बैधानिक संकटमा पर्ने अवस्था आयो उनले सभापतिविरुद्ध थोरै विरोधको स्वर निकाले त्यो पनि मसिनो स्वरमा।
उनीसँग राजनीतिक संस्कार त हुने नै भयो, कोइराला परिवारका न परे। तर संगठनको महत्व बुझ्ने र चलायमान हुने क्षमतामा ठूलै कमजोरी देखियो । सबैलाई समेटेर नभए पनि अधिकाशंलाई समेटेर सभापति बन्न उनले यो पटक सार्थक प्रयास नै गरेनन्। सायद ‘स्ट्रेन्थ’ बुझेरै होला। या त उनलाई आफ्नो समूहप्रति विश्वास थिएन वा उनी नेताहरुलाई आफ्नो पक्षमा ‘कन्भिन्स’ गर्न असफल भए। उनले नेतृत्वमा पुग्ने जोखिम मोल्न चाहेनन्। न त समीकरण बनाउन उल्लेख्य अभ्यास नै गरे । उनी आफ्ना लागिमात्रै केवल ‘सेफ जोन’ खोज्नतर्फ लागे। नतिजा केन्द्रीय सदस्यमा चित्त बुझाउने बाटो रोजे। उकालो लाग्दै गरेको हरिण एक्कासी ओराली लागेको झैं ।
राजनीति साँच्चिकै ‘तासको महल’ झैं हुँदो रहेछ । के अब उनी नेतृत्वमा पुग्ने सजिलो बाटो तयार गर्दै त छैनन् ?
जे सुकै होस्। विधान फेरबदल नभए उनी अब केन्द्रीय सदस्यमात्रै हुन्। खुबै उकालो लागे कोषाध्यक्षसम्म पुग्लान्। ब्याकगियरले अगाडि बढाउँदैन् तर अघि बढ्न आवश्यक पर्ने ‘स्पेश’ जरुर दिन्छ। यसपटकको कोइरालाको निर्णय उनको राजनीतिक दृष्टिदोष सावित हुने त होइन ? दूर दृष्टि वा अदुर दृष्टि उनि स्वयं आँखा विषेशज्ञ हुन् । राजनीतिमा उनको पछिल्लो निर्णयबारे भविष्यमा थप उजागर हुने नै छ। कांग्रेसमा संसदीय दलको नेता नहुँदै प्रधानमन्त्रीको भाग सजिलो छैन। अन्तर्राष्ट्रिय शक्तिको चलखेल उत्तिकै देखिन्छ ।
शक्ति सञ्चयका लागि हो भने पनि त्यसको औचित्यता पुष्टि गर्न डा. कोइरालालाई पन्ध्रौं महाधिवेशन कुर्नै पर्ने हुन्छ । तेह्रौ महाधिवेशनमा सर्वाधिक मत पाएर डा. शेखर कोइराला सभापतिको तयारीमा लागेका थिए,सायद पन्ध्रौंमा डा. शशांक । चौधौं महाधिवेशनमा केवल लोकप्रिय मत उनको भागमा पर्यो। उकालोमा हिंडिरहेको गाडीका चालकले ड्राईभिङ्ग सिटमा बसेर उकालो पार गर्न नसक्ने अवस्था आईपर्दा ‘ब्याक गियरमा’पछाडि फर्केर ब्रेक लगाएर सुरक्षित हुने उपाय रोज्नु यात्रामा सुरक्षित रहनु हो। चालकको त्यो निर्णय सम्भावित दुर्घटनाबाट यात्रुलाई जोगाउनु लिने बुद्धिमतापुर्ण निर्णय ठहरिन्छ। यो पटक डा. शशांक कोइराला उनको समूहको ड्राईभिङ्ग सिटमा थिए। उनले ‘ब्याक गियरसहित ‘ब्रेक’ लगाए अनि रोजे ‘सेफ जोन’ ।
त्यसका थुप्रै कारण होलान्। तीमध्ये ‘लोड’ धेरै भएर उकालो चढ्न नसक्ने अवस्था हुनु एउटा परिस्थिति हो । ‘लोड’ झारेर फेरि यात्रा अघि बढ्न सक्ने गुन्जायस रहन्छ । सायद डा. कोइरालालाई महामन्त्री कै पदको भारी बोझिलो थियो कि ? आँखाको चिकित्सकका रुपमा करिअर अघि बढाएका डा।शंशाकले संगठनमा आफ्नो अवस्था र समीकरणको परिस्थितिलाई राजनीतिक दृष्टिले हेरे, हेरेमात्रै होइन महसुस गरे। अनि माथि उक्लनुको साटो पुगेको स्थानबाट तल ओर्लेर आफ्नो स्थान सुरक्षित गरे। राजनीतिका चालहरु कहिले दायाँ, कहिले बायाँ त कहिले २ कदम अगाडि, कहिले २ कदम पछाडी चल्नु पर्ने हुन्छ। हुन त विश्व राजनीतिमा त्यस्ता दृष्टान्त थुप्रै छन्। जस्तो कि यतिबेलाका रसियाका राष्ट्रपति भ्लादमिर पुटिन, भारतमा भारतीय जनता पार्टीका नेताहरु राजनाथ सिंह र नीतिन गड्करी आदि।
यसबीच वीपी कोइरालाले उनका भाई अर्थात डा. शेखर कोइरालाका पिता केशव कोइरालाका लागि अस्पतालबाट लेखेको पत्र सार्वजनिक भयो। सांकेतिक रुपमा डा।शेखरले भाइ नाता पर्ने शशांकलाई परिवारको महत्व बुझ्न सुझाए।