कोरोना खोपमा २५ प्रतिशत ‘ड्रपआउट’

नेपालगञ्ज  – बाँकेमा कोरोनाको खोपमा पनि ‘ड्रपआउट’ देखिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेका अनुसार, बाँकेमा पहिलो खोप लगाएका २५ प्रतिशतले दोस्रो खोप लगाएका छैनन् ।
स्वास्थ्य कार्यालय, बाँकेले आयोजना गरेको कोभिड–१९ खोप सम्बन्धी जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा दिइएको जानकारी अनुसार, जिल्लामा ६ लाख १९ हजार तीन सय ३७ जनसंख्या रहेकोमा एक लाख ४१ हजार ६ सय ७४ जनाले एउटा पनि खोप लगाएका छैनन् ।
बाँकेमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जिल्लामा ४५ प्रतिशतले कोरोनाको दोस्रो डोज लगाएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले पहुँच नपुगेका बस्तीहरुमा फोकस गरेको बताउनुभयो । उहाँले ओमिक्रोन देखिएसँगै खोप लगाउनेको संख्या बढेको बताउनुभयो । पछिल्लो समयमा बाँकेमा सबै पालिकाबाट दैनिक खोप दिने काम भइरहेको छ । केही समयपछि बच्चा दिने खोपसँगै कोरोनाको खोप पनि दिइने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !