खजुराका सबै वडामा स्वास्थ्य केन्द्र
खजुरा – बाँकेको खजुरा गाउँपालिकाका ८ वडामै स्वास्थ्य केन्द्रको पहुँच पुगेको छ । स्वास्थ्यको भवन नभएको खजुरा गाउँपालिकाको वडा नम्बर ६ मा नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको सोमबार उद्घाटन गरेसंगै सबै वडामा पहुँच पुगेको हो ।
खजुरामा १५ वेडको अस्पताल निर्माणाधीन अवस्थामा छ । नवनिर्मित भवनको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्घाटन गर्दै स्वास्थ्य केन्द्रदेखि अस्पतालसम्म निर्माण भएकोले खजुराका जनतालाई अन्यत्र जान नपर्ने बताउनुभयो । उहाँले विकासको समान वितरण प्रणालीलाई अवलम्बन गर्दै पछाडी परेका वडालाई प्राथमिकतामा राखेको बताउनुभयो । जनतालाई वडासम्मै स्वास्थ्यमा पहुंच पुगाउने उद्देश्यले वडा नम्बर ६ मा पनि सेवा सुरु गरिएको हो । विगत १ वर्ष अघि निर्माण सुरु गरिएको भएपनि यस वर्ष भवन निर्माण सम्पन्न हुँदा सेवा सहित सुरु गर्न उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष कक्षपतिले जनतालाई गरिएको वाचाहरु मध्ये एक स्वास्थ्य सेवा पनि रहेकाले उक्त कार्यलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रत्येक वडाका जनतालाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीहरु सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्थानीय सरकारको मुख्य उद्देश्य भित्र स्वास्थ्य पनि रहेकाले सोही अनुरुप सेवा प्रदानलाई प्राथमिकता राखिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत खरालले आधारभूत स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य चौकी सरहको सेवा दिन सक्ने गरी योजना बनाइएको र उक्त योजना कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलले नयाँ भवसंगै सेवा प्रवाहमा सहजता हुने बताउनुभयो । उहाँले स्वास्थ्य शाखा प्रमुख पौडेलले स्वास्थ्यकर्मीले गुणस्तर स्वास्थ्य सेवा दिन तत्पर रहेको प्रतिबद्धता समेत बताउनुभयो।
खजुरा गाउँ पालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले खजुरा स्वास्थ्य सेवामा सक्षम रहेको बताउँदै जनप्रतिनिधि निर्वाचित भएपछि खजुरामा विकासको मूल फुटेको उल्लेख गर्नुभयो। उहाँले स्वास्थ्य सेवालाई मुख्य ध्यान दिएको उल्लेख गर्दै खजुराले भौतिक संरचनालाई समेत ध्यान दिएकोले जनताले विकासको अनुभूति गर्न पाएको बताउनुभयो।
खजुरा गाउँपालिका वडा नं। ६ का अध्यक्ष साविर जोलाहाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र ४६ लाख लागतमा निर्माण सम्पन्न भएको खजुरा गाउँपालिकाका योजना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिए । खजुरा गाउँपालिका इन्जिनियर प्रकाश सिजापतिले सहजीकरण गरेको कार्यक्रममा वडा नं. ६ का वडा सदस्य जंगबहादुर कामी, जनसेवा मावि व्यवस्थापन समितिका अध्यक्ष वेचन चौधरीलगायतले स्वास्थ्य केन्द्रको उद्घाटनसंगै सुरु भएको सेवाले जनताको आधारभूत स्वास्थ्यमा पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।