अध्यक्ष बर्मालाई टोलबासीको सम्मान
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्मालाई शनिबार सम्मान गरिएको छ ।
वडाको तेजनगर टोलबासीले विकास निर्माणको काममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै शनिबार औपचारिक कार्यक्रम गरि अध्यक्ष बर्मालाई सम्मान गरेका हुन । चालु आवमा तेजनगरमा वडा अध्यक्ष बर्माको पहलमा दुईवटा सडक पीसीसी भएको छ भने पक्की नाला सहित ८० मिटर सडक कालोपत्रे सम्पन्न भएको छ । यसैगरी सोही टोलमा एकसाताभित्रै हाईमास्ट लाइट जडान गर्ने तयारीमा रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयो ।
सोही टोलमा गतवर्ष ५० लाखको लागतमा नाली सहितको कालोपत्रे सडक निर्माण सम्पन्न भएको थियो । चालु आवमा तेजनगर टोलमा पक्की नाला सहित सडक स्तरउन्नती, विद्युतका पोलमा स्टीटलाइट जडान तथा जेष्ठ नागरिक र योगका लागि समेत वजेट विनियोजन भएको छ । टोलबासीबाट सम्मान पाएपछि वडा अध्यक्ष बर्माले वडाको पुरानो मध्येको तेजनगर टोलमा थप विकास निर्माणका योजना ल्याउन आफु प्रयासरत रहेको बताउनुभयो ।
टोल विकास समितिका अध्यक्ष सूर्य केसीले तेजनगरमा पछिल्ला वर्षमा विकास निर्माणका योजना कार्यान्वयन हुन थालेपछि टोलबासी उत्साहित भएको भन्दै थप विकास निर्माणका लागि आग्रह गर्नुभयो । कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायतको सहभागिता थियो । वडा अध्यक्ष बर्माले वडाका सबै टोलमा विकास निर्माणका काम तिव्ररुपमा अघि बढेको बताउनुभयो ।